आफ्नो भिसा नलागेपछि बेलायतको कार्यक्रमप्रति बोर्ड प्रवक्ता रुष्ट

चलचित्र विकास बोर्डका सदस्य एवं प्रवक्ता के.एल ‘पीडित’ले बेलायतमा आयोजना हुन लागेको एक कार्यक्रममा विकास बोर्ड सहभागी हुन नहुने भन्दै आपत्ति जनाए । उनले, यो कार्यक्रममा पैसाको ठूलो चलखेल भएको भन्दै बोर्ड यस्ता कार्यक्रममा जोडिन नहुने भन्दै सूचना तथा संचार मन्त्रालयमा निवेदन समेत दिए । उनले, बोधार्थ भन्दै फिल्म सम्बन्धी संघसंस्थामा पनि पत्र काटे । 

‘इन्टरनेशनल डेल्फिक काउन्सिल नेपाल शाखा’ले बेलायतमा आयोजना गर्न लागेको ‘नेपाली चलचित्रको ६ दशक, चुनौती र अन्तराष्ट्रिय बजारको खोजी’ नामक कार्यक्रममा चलचित्र विकास बोर्ड पनि सहभागी हुन लागेको भन्दै प्रवक्ता पीडितले चर्को आवाज उठाए ।

फिल्मीकर्मीहरुले आफूलाई बेलायतको कार्यक्रममा जानका लागि चर्को पैसा असुली गरिएको विषयमा ध्यानाकर्षण गराएपछि आफूले आवाज उठाएको पीडितको भनाई थियो । 

तर, यो कार्यक्रमको आयोजकले बोर्डको सहभागिताका लागि चिठी हस्तान्तरण गर्दै गर्दा प्रवक्ता पीडित उत्साहित थिए । बोर्डका अध्यक्ष र सदस्यहरूले बुझेको पत्रमा पीडित पनि सहभागी थिए । बोर्डले प्रवक्ता पीडितलाई बेलायत पठाउनका लागि संचार मन्त्रालयसमक्ष सिफारिस गर्यो ।

संचार मन्त्रालयले पनि पीडितलाई बेलायत पठाउनका लागि अनुमति दिएको थियो । यतिबेलासम्म बोर्ड सदस्य पीडित सक्रिय रुपमा लागेका थिए । 
बोर्डका अर्का एक सदस्यले बेलायतको यो कार्यक्रममा सहभागिता जनाउनका लागि रुची देखाउँदा पीडितले नै आफू जाने बताएका थिए । 

उसो भए, पीडित अहिले किन यो कार्यक्रमको विरोधमा उत्रिए त ? यसको मुख्यकारण  उनको बेलायतको भिसा नलाग्नु हो । मेरो फिल्मलाई प्राप्त पत्रमा ‘युके डिसिजन मेकिङ सेन्टर’ले पीडितलाई पठाएको पत्रमा उनको आवेदन रद्द गरिएको छ । उनले दिएको आवेदनमा मापदण्ड नपुग्ने भन्दै उनको भिसा रद्द गरिएको छ । 

भिसा आवेदन रद्द भएपछि पीडित यो कार्यक्रममा विकास बोर्ड सहभागी हुन नहुने भन्दै चर्को विरोधमा उत्रिएको वुझिएको छ । 

यो विषयमा मेरो फिल्मसँग कुरा गर्दै पीडितले भने–‘मेरो भिसा रद्द भएको भन्दै बजारमा हल्ला चलाएका छन् । तर, मेरो भिसा रद्द भएको छैन । सुरुवातमा बोर्ड मिटिङबाट नै मेरो नाम सिफारिस गरेर पठाइएको हो । तर, पछि कार्यक्रमको बारेमा निकै नराम्रा कुराहरू सुन्न थालेपछि मैले बेलायत जानु हुँदैन भन्ने निर्णय लिएको हुँ । फिल्मीकर्मी साथीहरूले मलाई यो कार्यक्रममा पैसाको बार्गेनिङ भइरहेको जानकारी गराएपछि म हच्किएको हुँ । म सिक्लेस आउनुपर्ने भएकाले अन्य प्रक्रिया अगाडि बढाउन पाएको छैन । काठमाडौं फर्किएपछि प्रहरी प्रशासनदेखि अदालतसम्म पुग्छु ।’

आयोजकले बोर्ड अध्यक्ष र एक जना सदस्यलाई बेलायत लैजानका लागि बोर्डलाई पत्र काटेको थियो । तर, आफ्नो भिसा नलागेपछि प्रवक्ता पीडित भने बोर्डले यस्ता कार्यक्रममा सहभागिता जनाउन नहुने भन्दै विरोधमा उत्रिएका छन् । 

माघको ६ गते हुने भनिएको यो कार्यक्रम अब फेब्रुअरी १० मा पोस्टपोन्ड भएको छ । बेलायत लैजानका लागि भिसा लागेका फिल्मीकर्मीलाई १ हजार पाउन्ड संस्थालाई सहयोग गर्नुपर्ने बार्गेनिङ समेत आयोजकले गरेको छ । 

तर, विकास बोर्डले भने यस्ता कार्यक्रममा सहभागिता जनाउने विषयमा निर्णय गरिसकेको अवस्थामा बोर्ड सदस्य एवं प्रवक्ता पीडित आफ्नो भिसा नलागेपछि विरोधमा उत्रिएका छन् ।