ब्रान्ड बजारमा स्वस्तिमाको उच्च माग, पहिलो पारिश्रमिक ५ हजार

नेपाली फिल्म क्षेत्रकी सर्वाधिक सफल र चर्चित नायिका स्वस्तिमा खड्काको माग ब्रान्ड बजारमा पनि उस्तै छ । आजको समयमा ब्रान्डमा सर्वाधिक धेरै व्यस्त हुने नायिकामा स्वस्तिमा अगाडि छिन् । उनको हातमा दर्जनौं नाम चलेका कम्पनीको ब्रान्ड प्रमोसनको जिम्मा छ । स्वस्तिमालाई आफ्नो ब्रान्डको प्रमोसनमा राख्नका लागि नाम चलेका कम्पनीहरूले राम्रै रकम खर्च गर्ने गरेका छन् । 

स्वस्तिमाले आफ्नो करिअरमा पहिलो पटक ब्रान्डको प्रमोसन फोटोसुटबाट गरेकी थिइन् । जसका लागि आफूले ५ हजार पारिश्रमिक पाएको स्वस्तिमा बताउँछिन् ।

यसपछि, भने उनको लोकप्रियतासँगै ब्रान्डसँग उनको सहकार्य पनि बढ्दै गयो । यसपछि स्वस्तिमाले एउटा कलर पेन्ट्सको विज्ञापनमा काम गरिन् । जसका लागि आफूले १ लाख पारिश्रमिक बुझेको स्वस्तिमा बताउँछिन् । 



स्वस्तिमाको हातमा अहिले ‘कोकाकोला, इ सेवा मनी ट्रान्सफर, टीभी एस, भायनेट, सेन्टर फ्रुट, ओप्पो नेपाल, महिन्द्र अग्नि ग्रुप, पर्ल राइस’ लगायतका ब्रान्ड छन् । यी ब्रान्डबाट उनले राम्रो रकम कमाउँदै आएकी छिन् । 

स्वस्तिमाको अनुभवमा विज्ञापन बजार निकै नै व्यावसायिक छ । तर, यसका लागि कलाकारहरू पनि एकदमै व्यावसायिक हुन आवश्यक रहेको उनी बताउँछिन् । समय, मिति र आफ्नो बजारमा प्रभावको विषयमा सधैं नै सजग हुनुपर्ने उनको अनुभव छ । 

स्वस्तिमाले आजका दिनसम्म करिब २ दर्जन ब्रान्डको प्रमोसन गरिसकेकी छिन् । ब्रान्डको दुनियाँमा काम गर्न आफूलाई निकै नै रमाइलो लाग्ने उनको तर्क छ । स्वस्तिमाले कुनै पनि कलाकारको पारिश्रमिक उसको प्रभाव अनुसार भर पर्ने बताइन् । भनिन्–‘कुनै पनि कम्पनीको बजारमा प्रभावलाई हेरेर मैले काम गर्ने गरेको छु । नेपाली ब्रान्ड छ भने म बढी प्राथमिकतामा राखेर काम गर्छु ।’