‘खोई विकास बोर्ड, संचार मन्त्रालयमै हरायो’
नायक भुवन केसी विकास बोर्डको अध्यक्ष भएपछि केही न केही फरकपन महशुश हुने सोच फिल्मीकर्मीको थियो । तर, विकास बोर्डमा अध्यक्ष भएको एक वर्षसम्म पनि कुनै नतिजा दिन नसकेका भुवन केसी सञ्चारकर्मी प्रकाश सुवेदी र निर्देशक दीपाश्री निरौलाको निराशावादी प्रश्नको बीचमा झनै निराशावादी सुनिए ।
चलचित्र पत्रकार संघ, कास्की शाखाको आयोजनामा सिक्लेसमा शनिबारदेखि सुरु भएको ‘सिने संवाद’ कार्यक्रममा भुवन केसी र दीपाश्री निरौलाले ‘सरकार र सिनेमा हिजो, आज र भोलि’ सत्रमा अन्तरक्रिया गरेका थिए । सो अन्तरक्रियाका क्रममा सहजकर्ता बनेका सञ्चारकर्मी प्रकाश सुवेदीले विकास बोर्ड कता हरायो भनेर भुवन केसीसँग प्रश्न गरेका थिए ।
तर, अध्यक्ष केसीले विकास बोर्ड अझै पनि चलचित्र ऐन २०२६ बमोजिम नै चलेको भन्दै यसले अप्ठ्यारो पारेको तर्क गरे । उनले, विकास बोर्ड स्वायत्त हुन नसक्दा काम गर्न नसकेको दाबी गरे ।
बोर्ड अध्यक्षले भने–‘विकास बोर्ड कहाँ हरायो भनेर खोज्न गएको थिएँ । त्यहाँ गइसकेपछि के थाहा भयो भने, विकास बोर्ड त संचार मन्त्रालयभित्र हराएको रहेछ । अहिले पनि त्यही नै अड्किएको छ ।’
विकास बोर्डमा आएको ६ महिनाभित्र परिणाममुखी काम गर्न नसके राजीनामा दिने केसीले बताएका थिए । तर, आजसम्म निराशावादी काम गरेका केसीले राजीनामा दिएका छैनन् ।
सहजकर्ता सुवेदीले यो विषयमा स्मरण गराउँदा अध्यक्ष केसीले भने–‘जबसम्म विकास बोर्ड स्वायत्त हुँदैन, संचार मन्त्रालयको नियन्त्रणमा रहन्छ, तबसम्म फिल्म क्षेत्रको विकास हुँदैन । सेन्सर बोर्डलाई पनि विकास बोर्ड मातहत ल्याउनुपर्छ ।’
अध्यक्ष केसीले एक वर्षभित्र विकास बोर्डलाई स्वायत्त बनाउँछु भनेर कोही आएको खण्डमा आफूले राजीनामा दिन तयार रहेको बताए ।
अध्यक्ष केसीले फिल्मसम्बन्धी कानुनलाई शंसोधन गर्न र एकीकरण गर्न बनेको विधेयकको मस्यौदामाथि छलफल भइरहेको बताए । उनले, यो मस्यौदामा सञ्चारमन्त्री रेखा शर्मा पनि सकारात्मक रहेको र चाँडो भन्दा चाँडो ऐन पास गर्न चाहेको बताए ।
यही सत्रमा कुरा गर्दै चलचित्र निर्माता संघका पूर्व अध्यक्ष आकाश अधिकारीले विकास बोर्डले आफ्नो भवन बनाउनु बाहेक केही पनि काम गर्न नसकेको तर्क गरेका थिए । उनले, निर्माताले नै फिल्म क्षेत्रलाई यहाँ सम्म ल्याएको भन्दै सरकारको भूमिका निकै नै फितलो भएकोमा चिन्ता व्यक्त गरेका थिए । उनले, बोर्डमा पार्टीका मान्छे आइन्जेलसम्म विकास हुन नसक्ने तर्क गरेका थिए ।
चलचित्र पत्रकार संघ, कास्की शाखाले आयोजना गरेको कार्यक्रम भोलीसम्म चल्नेछ ।
तस्विरः पूकार पूर्जा
प्रतिक्रिया