‘पारस’मा हिरो बन्न आएका निश्चल ‘लण्डन टू पेरिस’मा अलपत्र

नेपाली फिल्म क्षेत्रमा नयाँ–नयाँ कलाकार भित्रिने गर्छन् । तर, कतिपयको कलाकारिताले उनीहरूलाई नयाँ उचाइमा लैजान्छ, कतिपय भने आफ्नो प्रोजेक्ट अगाडि बढ्न नसक्दा बीचमै रोकिन्छन् । 

निर्माताबाट निर्देशक बन्नका लागि माधव वाग्लेले फिल्म ‘पारस’लाई रोजे । यो फिल्ममा काम गर्नका लागि एक जना युवक अष्ट्रेलीयाबाट नेपाल आए । उनको नाम थियो निश्चल खड्का । 

निश्चलको लुक्सले धेरैलाई आकर्षित गरेको थियो । तर, उनी यो फिल्मको नायक बन्न पाएनन् । माधवले फिल्म अनमोल केसीलाई अफर गरे । फिल्मको कथा मन परेपछि अनमोलका पिता भुवन केसीले, आफैले फिल्म निर्माण गर्ने अड्डी कसे । यसपछि, माधवलाई पैसा तिरेर उनले फिल्मको अधिकार खरिद गरे । यो फिल्म आजसम्म पनि बनेको छैन । 

‘पारस’ नबने पनि निश्चललाई भने फिल्म ‘लण्डन टू पेरिस’बाट अफर आयो । यो फिल्ममा उनले नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहसँग रोमान्स गरे । फिल्मको छायांकन लण्डनमा भयो । तर, बाँकी रहेको केही दृश्यको छायांकन पेरिसमा हुन नसक्दा आजसम्म पनि फिल्मको रिलिज मिति तय भएको छैन । 

घनश्याम लामिछानेले निर्देशन गरेको यो फिल्म अलपत्र पर्दा यसबाट डेब्यू गरेका नव–नायक निश्चल खड्काको करिअर पनि अलपत्र नै परेको छ । फिल्मको निर्माण कम्पनी एबी प्रोडक्शनले गतबर्ष फागुन ५ गते फिल्म रिलिज गर्ने घोषणा गरेपनि, अन्तिम समयमा आएर पोस्टपोन्ड गर्यो । घनश्यामले फिल्म ‘चित्रा’ निर्देशन गरेर रिलिज गरिसकेका छन् । तर, निश्चलको डेब्यूृ फिल्म रिलिजको कुनै सुरसार छैन । 

‘पारस’ बन्न आएका निश्चल ‘लण्डन टू पेरिस’ मै अलपत्र परिरहेका छन् । उनीपछि, केही नव–नायकहरुले फिल्म क्षेत्रमा आफ्नो पाइला अगाडि बढाइसकेका छन् । तर, दर्शकले निश्चललाई ‘पशुपति प्रसाद २ः भष्मे डन’को एक गीतमा बाहेक हेर्न पाएका छैनन् । आखिर, निश्चलको करिअरको गति कहिले अगाडि बढ्ला ?