विकास बोर्डमा भुवन केसीः विवादित काममा जोडिने, गर्नुपर्ने काम नगर्ने

चलचित्र विकास बोर्डमा नायक भुवन केसी अध्यक्ष भएर आएपछि काम भन्दा ज्यादा विवाद भइरहेको छ । बारम्बार विवादले भुवन केसीको काम गर्ने क्षमतामा पनि गम्भीर प्रश्न चिन्ह उठाएको छ । 

विकास बोर्डले गरेका काममा बारम्बार विवाद भइरहेको छ । हालै मात्र ‘इन्टरनेशनल डेल्फिक काउन्सिल नेपाल शाखा’ले बेलायतमा आयोजना गर्न लागेको ‘नेपाली चलचित्रको ६ दशक, चुनौती र अन्तराष्ट्रिय बजारको खोजी’ विषयक कार्यक्रममा विकास बोर्ड जोडिएपछि चर्को विवाद भएको छ । 

विकास बोर्डलाई स्टल राख्न मात्र साढे २ लाख रूपैयाँ आयोजकले मागेको छ । फिल्मीकर्मीसँग पैसा उठाएर बेलायत लैजान लगिएको कार्यक्रममा विकास बोर्ड जोडिएर नेपाली फिल्मको कुन बजार खोज्न लागिएको हो भन्दै प्रश्न उठेको छ । अर्कातिर, कार्यक्रममा लैजानका लागि आयोजकले भिसा लागेका फिल्मीकर्मीले १ हजार पाउन्ड अनिवार्य दिनुपर्ने सर्त समेत राखेको छ । 
यस्ता विवादित कार्यक्रममा जोडिएर भुवन केसी र उनको नेतृत्वको विकास बोर्ड बारम्बार विवादमा तानिएको छ । 

केही महिना अगाडि भुवन केसी नेतृत्वको विकास बोर्ड दुबईमा आयोजना भएको एक फिल्म महोत्सवमा जोडिएर विवादित बन्यो । विकास बोर्डले ३० लाख रूपैयाँ बजेट छुट्याए पनि एक विवादित कम्पनीलाई कार्यक्रम आयोजनाको जिम्मा दिइएपछि विवाद भएको हो । यो कार्यक्रम गरेर भुवन केसीको नेतृत्वले ३० लाख रूपैयाँ सकेपनि कुनै उपलब्धि हुन सकेको छैन । 

भुवन केसी नेतृत्वको विकास बोर्डले यो बर्ष आयोजना गरेको ‘राष्ट्रिय फिल्म पुरस्कार’ पनि चर्को विवादमा फस्यो । यो पुरस्कारबाट ‘उत्कृष्ट फिल्म’ नै गायब बनाइयो । अहिले यो विवाद अदालतसम्म पुगेको छ । एउटा राष्ट्रिय अवार्डमा ‘उत्कृष्ट फिल्म’को विधा नै गायब हुनु, कतिसम्मको लज्जाको काम हो भन्ने भुवन केसी नेतृत्वको बोर्डले अझै महशुश गर्न सकेको छैन । 
यो बाहेक ‘चलचित्र विधेयकदेखि प्रेमगीत ३’ रिलिजको समयमा विकास बोर्ड नेतृत्वले देखाएको अपरिपक्वताले फिल्म क्षेत्रमा चर्को विरोध भयो । 

बारम्बार चलचित्र विकास बोर्ड बिबाद फसिरहेको छ । यस अगाडि यस्तो विवाद विकास बोर्डको कुनै पनि नेतृत्वको समयमा भएको थिएन । तर, फिल्म क्षेत्रमा निकै नै ठूलो आशा देखाएर बोर्ड अध्यक्ष बनेका भुवन केसी भने सही निर्णय गर्न नसकेर विवादित भइरहेका छन् । 

एकातिर, विकास बोर्ड हरेक समयमा विवादमा जोडिएको छ भने अर्कातिर बोर्डले गर्नुपर्ने थुप्रै कामहरू थुप्रिएका छन् । निर्माताका समस्या जस्ताको तस्तै छन् । फिल्म क्षेत्र अझै पनि गतिलो तरिकाले अगाडि बढ्न सकेको छैन । फिल्म क्षेत्रलाई राज्यले दिनुपर्ने थुप्रै सहुलियत दिन सकेको छैन । नेपाली फिल्म रिलिजको समयमा जहिले समस्या उत्पन्न भइरहेका छन् । विकास बोर्ड भने आफैले निर्देशन दिएका हलहरुले निर्देशन नटेर्दा कारबाही गर्न नसकेर टुलटुल हेरेर बसिरहेको छ । 

विकास बोर्डमा पुग्नु अगाडि निकै नै चर्का गफ गरेका भुवन केसी विदेश भ्रमण र अनावश्यक उद्‍घाटनमा व्यस्त हुने गरेका छन् । बोर्ड अध्यक्षको कार्यकाल सकिन अब केही महिना मात्र बाँकी छ । तर, बोर्ड अध्यक्षमा भुवन केसीको उपस्थिति फिल्म क्षेत्रका लागि निराशा छर्न बाहेक अरु केही पनि देखिएको छैन । अब, उनले बाँकी रहेका केही महिनामा चमत्कार गरे भने अर्को कुरा । होइन भने, बोर्ड अध्यक्षमा भुवन केसीको कार्यकाल आजसम्मकै कमजोर र विवादित भएर सकिने निश्चित छ ।