रामबाबु गुरुङ र उपेन्द्र सुब्बाबिच खटपट ?
निर्देशक रामबाबु गुरुङ नेपाली फिल्म क्षेत्रका ब्लकबस्टर निर्देशक मानिन्छन् । रामबाबुले बनाएका ‘कबड्डी’ सिरिजले बक्स अफिसमा ऐतिहासिक रेकर्ड बनाएका छन् । यस्तै, फिल्म ‘जारी’बाट निर्देशकको रुपमा उदाएका निर्देशक उपेन्द्र सुब्बाको चर्चा पनि एकाएक चुलिएको छ ।
‘जारी’ यो बर्षको हालसम्मकै सर्वाधिक ग्रस कलेक्शन गर्ने फिल्म हो । तर, यति बेला यी दुई निर्देशक फरक–फरक प्रोजेक्टलाई अगाडि बढाइरहेका छन् । उनीहरूले ‘कबड्डी सिरिजदेखि जारी’सम्मका फिल्ममा सहकार्य गरे र ऐतिहासिक रेकर्ड राखे ।
तर, फिल्म ‘जारी’ रिलिज भएपछि भने उपेन्द्र र रामबाबुबिच खटपट सुरु भएको हो । उनीहरुबिच फिल्मको व्यापारिक हिसाबलाई लिएर खटपट भएको वुझिएको छ ।
रामबाबुले फिल्म ‘डिग्री माइला’को छायांकन रुम्जाटारमा गरिरहेका छन् । यो फिल्मलाई बाँसुरी फिल्मस्ले निर्माण गरिरहेको छ । अर्कातिर, रामबाबुले फिल्म छायांकन सुरु गरेको केही समयपछि उपेन्द्रले ‘मनसरा’ फिल्मको छायांकन सुरु गरेका छन् । यो फिल्मलाई कबड्डी फिल्मस्ले निर्माण गरिरहेको छ । उपेन्द्रको फिल्म निर्माणमा बाँसुरी फिल्मस् जोडिएको छैन ।
यी दुई मिल्ने साथीले एक अर्कालाई सामाजिक संजालमा शुभकामना समेत दिएका छैनन् । रामबाबुले फिल्म ‘अगस्त्य’लाई सफलताको शुभकामना दिन भ्याएका छन् । तर, ‘मनसरा’को फस्टलुक सार्वजनिक हुँदा रामबाबुको सामाजिक संजालमा कुनै शब्द अटाएको छैन ।
उपेन्द्रले भने ‘डिग्री माइला’को टिमले नायक दयाहाङ राइको फस्टलुक रिलिज गरेपछि पोस्टर सेयर गर्दै शुभकामना दिएका छन् ।
प्रतिक्रिया