विकास बोर्डलाई देखाएर बेलायत लैजान १ हजार पाउन्डको बार्गेनिङ
चलचित्र विकास बोर्ड फेरि अर्को विवादमा तानिएको छ । यसअघि दुबईमा फिल्म महोत्सवको आयोजना गर्दा विवादमा तानिएको विकास बोर्ड यसपटक फेरि बेलायतमा आयोजना गर्न लागिएको एक फिल्मी कार्यक्रममा जोडिएपछि फेरि विवादमा तानिएको छ ।
‘इन्टरनेशनल डेल्फिक काउन्सिल नेपाल शाखा’ले बेलायतमा कार्यक्रम आयोजना गर्ने भन्दै कलाकारहरूसँग १ हजार पाउन्ड असुलेको भन्दै चलचित्र विकास बोर्डका सदस्य के एल ‘पिडित’ले संचार मन्त्रालयमा उजुरी दिएका छन् ।
यो संस्थाले ‘नेपाली चलचित्रको ६ दशक, चुनौती र अन्तराष्ट्रिय बजारको खोजी’ नामक कार्यक्रममा चलचित्र विकास बोर्डको सहभागिताको लागि पत्र पठाएको थियो । पत्रमा बोर्डको स्टल राख्ने र सो स्टलवापत २ लाख ५० हजार रूपैयाँ तिनुपर्ने सर्त समेत राखिएको छ ।
पैसा असुली गर्दै हुन लागेको कार्यक्रमले नेपाली फिल्मको विकास र प्रवर्द्धन नगर्ने भन्दै बोर्डका सदस्य एवं प्रवक्ता के एल पीडितले यस्ता कार्यक्रममा विकास बोर्ड जोडिन नहुने तर्क गरे । उनले मेरो फिल्मसँग भने–‘हामी फिल्म क्षेत्रलाई विश्व बजारमा पुर्याउने र फिल्म क्षेत्रको विकास गर्ने उद्देश्यले बोर्डमा आएका हौँ । तर, बोर्ड पैसा असुलेर आयोजना हुने कार्यक्रममा जोडिन मिल्दैन । मैले यो विषयमा बोर्डमा पनि जानकारी गराइसकेको छु । मसँग यो विषयमा थुप्रै प्रमाणहरु पनि छन् । कलाकारहरूसँग भएको पैसाको बार्गेनिङको अडियो पनि मसँग छ । म अदालतसम्म पनि जान सक्छु ।’
के एल पीडितलाई चलचित्र विकास बोर्डले नै बोर्डको प्रतिनिधित्व गरेर बेलायत जान अनुमति दिएको थियो । बोर्डको निर्णय अनुसार मन्त्रिपरिषदको बैठकबाट नै उनलाई अनुमति दिइएको छ । तर, उनै पीडितले अहिले यो कार्यक्रममा फिल्मीकर्मीबाट पैसा असुलेको भन्दै बोर्डको सहभागिता रद्द गर्न निवेदन दिएका छन् । सुरुवातमा यो कार्यक्रम माघको ६ गतेबाट ११ गतेसम्म हुने भनिएको छ । अहिले, कलाकारहरूको नै भिसा नलागेपछि फेब्रुअरी महिनाको १० तारिखमा सारिएको छ ।
आयोजकले कार्यक्रममा लैजानका लागि भिसा लागेका फिल्मीकर्मीलाई १ हजार युरोको बार्गेनिङ गरेको छ । कतिपय कलाकारसँग ५ लाखसम्म मागिएको स्रोतले मेरो फिल्मलाई बताएको छ । साथै, कार्यक्रममा जानका लागि भिसा आवेदन खर्च, टिकट खर्च सबै फिल्मीकर्मीबाट नै उठाइएको छ । अर्कातिर, आयोजकले फिल्मीकर्मीलाई कार्यक्रम कुन स्थानमा हुने भन्ने विषयमा समेत जानकारी गराएको छ । यो संस्थाको अध्यक्षमा बाबुराम अर्याल छन् ।
प्रतिक्रिया