नेपाली फिल्मका यी सफल निर्देशक, को के गर्दैछन् ?

फिल्म ‘कबड्डी ४’बाट २२ करोडको ग्रस कलेक्शनको रेकर्ड राख्दै निर्देशक रामबाबु गुरुङले अन्य निर्देशकहरूलाई चुनौती दिए । दीपाश्री निरौलाले बनाएको ‘छक्का पन्जा ३’को ऐतिहासिक रेकर्डलाई रामबाबुले तोडिदिए । यसपछि, उनीबाट नेपाली फिल्म क्षेत्रले अझै बलियो फिल्मको अपेक्षा गरिरहेको छ । 

उनै, रामबाबु विगत केही समयदेखि फिल्म ‘डिग्री माइला’को छायांकन गरिरहेका छन् । चैत्र ३० गतेलाई प्रदर्शन मिति तय गर्दै उनले रुम्जाटारमा फिल्मको छायांकन धमाधम गरिरहेका हुन् । 

यो बर्ष हालसम्म रिलिजमा आएका फिल्ममध्ये ‘जारी’ले नयाँ रेकर्ड राखेको छ । यो फिल्मले बक्स अफिसमा १७ करोड भन्दा माथिको ग्रस कलेक्शन गर्यो । यही फिल्मका निर्देशक उपेन्द्र सुब्बा वैशाख २१ गतेलाई प्रदर्शन मिति तय गर्दै नयाँ फिल्म ‘मनसरा’को छायांकन गरिरहेका छन् । विगत केही दिनदेखि उनी ललितपुरमा फिल्मको छायांकन गर्नमा व्यस्त छन् । 

यो बर्ष हिट फिल्म दिएका निर्देशक दीपेन्द्र के खनालको हातमा फिल्मको लाइनअप लामो छ । तर, उनी सुरुवातमा फिल्म ‘मेयर’ नामक फिल्मको छायांकन गर्दैछन् । यसपछि, उनले ‘के घर के डेरा’ निर्देशन गर्नेछन् । उनले, फिल्म ‘आमा २’ बनाउने पनि पक्का भइसकेको छ । यस्तै, दीपेन्द्रले फिल्म ‘पशुपति प्रसाद ३’को पनि तयारी गरिरहेका छन् । यसरीहेर्दा, ‘पशुपति प्रसाद २ः भष्मे डन’का निर्देशक खनालको व्यस्तता आउँदो वर्षसम्म चर्को देखिएको छ । 

अर्का सफल निर्देशक दीपेन्द्र लामा पनि नयाँ फिल्मको तयारीमा छन् । उनले, नयाँ फिल्म ‘दुःखी आत्मा र नांगो गाउँ २’ निर्देशनको घोषणा गरिसकेका छन् । दीपेन्द्रले चैत्रबाट फिल्म ‘दुःखी आत्मा’को छायांकन सुरु गर्ने तयारी गरेका छन् । 

नेपाली फिल्म क्षेत्रका अर्का सफल निर्देशक निश्चल बस्नेतको पाइपलाइनमा पनि ३ वटा फिल्म छन् । निश्चलले यो बर्ष फिल्म ‘बेहुली फ्रेम मेघौली’मा अभिनय गर्दैछन् । यो फिल्ममा उनको जोडीको रुपमा नायिका स्वस्तिमा खड्काले काम गर्ने पक्का भइसकेको छ ।

यस्तै, आउँदो बर्ष उनले नयाँ एक्सन फिल्म निर्देशन गर्ने घोषणा गरिसकेका छन् । यस्तै, वि.सं २०८३ को दशैँलाई लक्षित गरेर निश्चलले फिल्म ‘दिमाग खराब २’ पनि निर्देशन गर्ने घोषणा गरिसकेका छन् । यसरीहेर्दा, निश्चलको फिल्मी लाइनअप पनि बलियो देखिएको छ । 

हिट फिल्म निर्देशन गर्दै आएका निर्देशक प्रदीप भट्टराईले नयाँ फिल्म ‘महाजात्रा’को छायांकन सकेका छन् । यो फिल्मको हाल पोष्ट प्रोडक्शनको काम चलिरहेको छ । यो फिल्मलाई चैत्रको ९ गतेबाट रिलिज गर्ने तयारीमा उनी छन् । उनले फिल्म ‘लू’ निर्देशन गर्ने पनि चर्चा चलेको थियो । तर, ‘महाजात्रा’ रिलिज अगाडि प्रदीप नयाँ फिल्मको काम सुरु नगर्ने मुडमा देखिएका छन् । 

यस्तै, सफल निर्देशक झरना थापाले फिल्म ‘ए मेरो हजुर ५’को तयारी सुरु गरिसकेकी छिन् भने अर्की सफल निर्देशक दीपाश्री निरौला ‘छक्का पन्जा ५’ निर्देशनको तयारीमा छिन् । 

अर्का सफल निर्देशक ज्ञानेन्द्र देउजाको हातमा पनि फिल्मको अभाव छैन । उनी, फागुनको २५ गतेबाट रिलिज हुन लागेको फिल्म ‘उपहार’का लागि दौडधूप गरिरहेका छन् । यो फिल्मपछि उनले फिल्म ‘झिँगे दाउ २’ बनाउने तयारी गरेका छन् । यो बाहेक उनले छविराज ओझाको ब्यानरमा बन्न लागेको फिल्म पनि निर्देशन गर्ने चर्चा छ । यस्तै, उनलाई अन्य केही नाम चलेका ब्यानरबाट पनि फिल्मको अफर आइरहेको छ । 

फिल्म क्षेत्रमा एक बर्षमा ५० भन्दा बढी फिल्म बनिरहेका छन् । तर, केही निर्देशकहरू मात्र सफल भएका छन् । जसले, बक्स अफिसमा सफलताको झण्डा गाड्दै गर्दा दर्शकबाट पनि भरोसा जितिरहेका छन् ।