हलमा नेपाली फिल्मको खडेरी

आज शुक्रबारदेखि ‘हनुमान’ नामक साउथको हिन्दी डब फिल्म नेपालमा रिलिज भएको छ । गत साता नै भारतमा रिलिज भएको यो फिल्मलाई लोकप्रियता देखेर नेपाली वितरकले नेपाल भित्र्याएका हुन् । 

आज शुक्रबारबाट हलमा नयाँ साउथ फिल्म रिलिज हुँदै गर्दा नेपाली फिल्मको भने खडेरी लागेको छ । हलमा देखिएका आधा दर्जन फिल्म हिन्दी र साउथका मात्र छन् । 

गत साता रिलिजमा आएका दुई नेपाली फिल्म ‘पर्खि बसेँ तिमीलाई र चित्रा’ले एक सातामै दम तोडेपछि नेपाली हलमा हिन्दी फिल्मको राज चलेको हो । हलमा ‘हनुमान, द बिकिपर, मेरी क्रिसमस, क्याप्टेन मिलर, डंकी, सलार र एक्वाम्यान’ रिलिज भइरहेका छन् ।

अब, माघको २६ गते रिलिज हुन लागेका दुई नेपाली फिल्म ‘हात्तीछाप र दयारानी’ अगाडि हलमा नेपाली फिल्मको खडेरी नै लाग्ने देखिएको छ । अझै, तीन साता हलमा हिन्दी, साउथ र अंग्रेजी फिल्मकै दबदबा रहने देखिएको छ ।

तर, सन् २०२४ लागेपछि रिलिजमा आएका विदेशी फिल्मले पनि हलमा गतिलो व्यापार गर्न सकेका छैनन् । जसकाकारण, नेपाली प्रदर्शकलाई आउँदो साताबाट रिलिजमा आउन लागेको हिन्दी फिल्म ‘फाइटर’माथि बढी आशा देखिएको छ ।