आर्शीवाद र किरणलाई अर्को अवसरको खाँचो

यो बर्षको पहिलो महिनामा रिलिज भएको फिल्म ‘नाई नभन्नु ल ६’बाट नायक आर्शीवाद क्षेत्री उदाए । फिल्म बक्स अफिसमा पूर्ण रुपमा असफल भयो । तर, फिल्म नचले पनि आर्शिवादको कामको राम्रै चर्चा भयो । 

आर्शीवादलाई एक्सन फिल्मका लागि धेरै मेकरहरुले फिट देखे । उनलाई अर्को अवसर दिने हो भने फिल्म क्षेत्रले एउटा राम्रो नायक पाउने टिप्पणी पनि भयो । 

फिल्म रिलिजको १० महिना बितिसक्दा पनि आर्शिवादले अर्को फिल्ममा काम गरेका छैनन् । उनले, यो बीचमा केही फिल्म साइन गरेको खबर सार्वजनिक भएको थियो । तर, अहिले उनी चुपचाप छन् । 

पौष महिनाको २७ गतेबाट रिलिजमा आएको फिल्म ‘पर्खि बसेँ तिमीलाई’ पनि बक्स अफिसमा चलेन । यो फिल्मको प्रचार प्रसार राम्रै भएपनि दर्शकले चिसो महिनामा हलसम्म जाने सोच बनाएनन् । जसकाकारण, दीपक श्रेष्ठ निर्देशित लभ स्टोरी फिल्मबाट निर्माता डुबे । 

तर, फिल्मबाट नव–नायक किरण श्रेष्ठको कामको भने निकै चर्चा भयो । किरणले एउटा सिंगो फिल्म नै धान्ने क्षमता राखेको भन्दै मिडियाकर्मी र केही फिल्मीकर्मीबाट राम्रै चर्चा भयो । मण्डला थिएटरमा ७ बर्ष बिताएका किरणलाई अर्को अवसर दिने हो भने नेपाली फिल्म क्षेत्रले राम्रो कलाकार पाउने टिप्पणी भइरहेको छ । 

यो बर्ष केही नयाँ नायकहरू उदाए भने केही उदाउने क्रममा छन् । तर, सर्वाधिक चर्चा नयाँ अनुहारमा आर्शीवाद र किरणको नै भयो । 

उसो त नेपाली फिल्म क्षेत्रमा बलेको आगो ताप्छ । एउटै नायकमाथि दर्जन बढी फिल्मको भार बोकाउन तयार हुने नेपाली फिल्म क्षेत्र नयाँ अनुहारमाथि जोखिम मोल्न नै तयार हुँदैन । 

यसैले, आर्शीवाद र किरणमाथि नेपाली फिल्म क्षेत्रले फेरि लगानी गर्छ या गर्दैन भन्न सकिने अवस्था छैन । तर, बक्स अफिसमा फिल्म असफल भएपनि यी दुईले यही क्षेत्रमा केही गर्न सक्छन् भन्ने पुष्टि आफ्नो कामबाट गरेका छन् । 

हेरौँ, आर्शीवाद र किरणले भोलिका दिनमा आफूलाई कसरी अगाडि बढाउनेछन् । साथै, उनीहरूलाई फिल्म क्षेत्रले कसरी लिनेछ ।