माघ ६ देखि ८ गतेसम्म सिक्लेसमा सिनेमा संवाद, तयारी पूरा
पोखरा
चलचित्र पत्रकार संघ कास्कीले सिक्लेसमा ‘सिनेमा संवाद’ कार्यक्रमको आयोजना गर्ने भएको छ । माघ ६, ७ र ८ गते पर्यटकीय गाउँ सिक्लेसमा हुने कार्यक्रमको तयारी पूरा भएको चलचित्र पत्रकार संघ कास्कीका अध्यक्ष प्रभु अधिकारीले जानकारी दिए ।
उनले पर्यटकीय गाउँ सिक्लेसको प्रचारप्रसार र चलचित्र क्षेत्रको गतिविधि बढाउने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको जनाए । उनका अनुसार कार्यक्रममा ‘सिनेमा र सरकार : हिजो, आज र भोलि’, ‘नेपाली सिनेमाको स्वाद : कस्तो छ ? कस्तो हुनुपर्छ ?’ र ‘सिनेमा भित्र म, म भित्र सिनेमा : अनुभव ’ विषयमा बहस गरिनेछ । कार्यक्रममा चलचित्र क्षेत्रका विद्धत व्यक्तिहरूले अन्तरक्रिया गर्ने अध्यक्ष अधिकारीले बताए।
कार्यक्रममा चलचित्र विकास बोर्डका अध्यक्ष एवं अभिनेता भुवन केसी, अभिनेत्री गौरी मल्ल, चलचित्र निर्देशक एवं लेखक प्रकाश सायमी, कलाकार तथा चलचित्र निर्देशक दिपाश्री निरौला, चलचित्र निर्माता संघका निवर्तमान अध्यक्ष एवं कलाकार आकाश अधिकारी, चलचित्र निर्देशक एवं कलाकार अनुप बराल , अभिनेत्री दिया मास्के, निर्देशक एवं लेखक मनोज पण्डितले आफ्ना विचार राख्नेछन् ।
सहजकर्ताको भूमिकामा चर्चित सञ्चारकर्मी रजतपटका संचालक प्रकाश सुवेदी, पत्रकार सुरज सुवेदी र सञ्चारकर्मी एवं रेडियो कान्तिपुरका कार्यक्रम प्रस्तोता सन्जोग बस्याल रहने जानकारी गराइएको छ । कार्यक्रम विकास बोर्डका अध्यक्ष केसीको प्रमुख आतिथ्यतामा हुनेछ ।
अधिकारीले ‘सिनेमा र सरकार : हिजो, आज र भोलि’ विषयमा वक्ताहरू चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसी, कलाकार एवं चलचित्र निर्देशक दिपाश्री निरौला, चलचित्र निर्माता संघका निवर्तमान अध्यक्ष एवं कलाकार आकाश अधिकारीले बहस गर्ने बताए ।
जसमा सहजकर्ताको भूमिकामा नेपाली सिने क्षेत्रसँग सम्बन्धित रहेर लामो समय देखि सञ्चारकर्म गर्दै आएका एपीवान् टेलिभिजनबाट प्रसारण हुने कार्यक्रम रजतपटका संचालक प्रकाश सुवेदी रहनेछन् । उक्त सेसनमा सरकार र सिनेमाको सम्बन्ध र आगामी तयारीका विषयमा बहस हुनेछ।
‘नेपाली सिनेमाको स्वाद : कस्तो छ ? कस्तो हुनुपर्छ ?’ विषयमा वक्ताहरू चलचित्र निर्देशक एवं कलाकार अनुप बराल, चलचित्र निर्देशक एवं लेखक प्रकाश सायमी र लेखक- निर्देशक एवं समीक्षक मनोज पण्डित रहनेछन् । जसमा सहजकर्ताको भूमिकामा लेखक तथा चलचित्र समीक्षक सुरज सुवेदी रहनेछन् । उक्त सेसनमा नेपाली सिनेमाको कथावस्तुको विषयमा चर्चा हुनेछ ।
यस्तै ‘सिनेमा भित्र म, म भित्र सिनेमा : अनुभव’ विषयमा वक्ताहरू चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसी, अभिनेत्री गौरी मल्ल र अभिनेत्री दिया मास्के रहनेछन् । जसमा सहजकर्ताको भूमिकामा रेडियो कान्तिपुरका कार्यक्रम प्रस्तोता सञ्चारकर्मी सन्जोग बस्याल रहने जानकारी गराइएको छ । उक्त सेसनमा केसी मल्ल र मास्केले आफ्नो कलाकारिता अनुभव प्रस्तुत गर्नेछन् ।
माघ ६ गते पोखराबाट सिक्लेसको यात्रा गरिने र बहस कार्यक्रम माघ ७ गते आइतबार मात्र हुने अध्यक्ष प्रभु अधिकारीले बताए । आइतबार तीन वटै सेसन सकेर सिक्लेसमा नै नेपाली चलचित्र पनि देखाइने र ८ गते मात्रै पोखरा फर्किने उनले उल्लेख गरेका छन् । कार्यक्रम मादी गाउँपालिका वडा नं. १ सिक्लेस, सिक्लेस होटल व्यवसाय समिति, सिक्लेस सामुदायिक होमस्टे व्यवस्थापन समिति, सिक्लेस युवा क्लब, सिक्लेस आमा समूहको समन्वयमा हुने जनाइएको छ ।
कार्यक्रमलाई सफल पार्न प्रोमोटेडको रुपमा गण्डकी प्रदेश सरकार, चलचित्र विकास बोर्ड, मादी गाउँपालिका, गण्डकी प्रज्ञा प्रतिष्ठानले साथ दिएको छ । कार्यक्रमको हस्पिटालिटीमा पार्टनरमा लेक साइड स्थित होटल पुस्कर र सारा होटल रहेको छ । रेष्टुरेण्ट पार्टनरमा व्यञ्जन, कलाउड नाइन, मार्फा थकाली किचेन, सरुमा चुल्हो र दमदार बिरयानी रहेको चलचित्र पत्रकार संघ कास्कीका सचिव सन्तोष बस्यालले जानकारी गराए ।
उनका अनुसार ट्राभल पार्टनरमा पृथ्वी राजमार्ग बस संचालक कम्पनी प्रालि पोखराले साथ दिएको छ भने वेलनेस पार्टनरमा ट्रयाङ्कुलिटी स्पा रहेको छ । पेमेन्ट पार्टनरमा इसेवाले साथ दिएको छ ।
सहयोगी संस्थाहरूमा अन्नपूर्ण संरक्षण क्षेत्र योजना (एक्याप) रहेको उनले बताए । एजुकेसन पार्टनरमा एक्सपर्ट एजुकेसन र एडभेन्चर पार्टनरमा बन्जीले साथ दिएको छ । इन्टरनेट पार्टनरमा पोखरा इन्टरनेट रहेको छ भने मिडिया पार्टनरमा परिचय डट कम, मेरो फिल्म डट कम रहेको जनाइएको छ । कार्यक्रमलाई पब्लिक फोर के टेलिभिजन मार्फत लाइभ प्रसारण गरिनेछ । यसअघि सिनेमा संवाद घान्द्रुकमा गरिएको थियो ।
प्रतिक्रिया