नेपालको सेट बनाएर अष्ट्रेलियामा हलिउड फिल्मको छायांकन
नेपाल सरकारले नेपाललाई विदेशी फिल्मलाई छायाङ्कनको गन्तव्यको रुपमा अगाडि बढाउने निर्णय गरिसकेको छ । चलचित्र विकास बोर्डले पनि नेपालमा विदेशी फिल्मको छायांकन बढाउने विषयमा बारम्बार छलफल गरिरहेको पाइन्छ ।
तर, विदेशी फिल्महरू भने नेपालसम्म आएर छायांकन गर्नुभन्दा विदेशमै नेपालको नक्कली सेट बनाएर छायांकन गरिरहेका छन् । लियाम निसानको मुख्य भूमिका रहने फिल्म ‘आइस रोड २’को छायांकन अष्ट्रेलीयाको भिक्टोरियास्थित वालहल्ला भन्ने ठाउँमा भइरहेको छ ।
एक युट्युब च्यानलमा सार्वजनिक भएको भिडियोमा नक्कली नेपाल बनाउनका लागि निर्माताले राम्रै खर्च गरेको देखिन्छ । यो फिल्मले विशेषगरि अरनिको राजमार्ग र बाह्रबिसे रोडको कथा भन्छ ।
फिल्ममा ‘नेपाल पुलिस’ लेखेर प्रहरीको भ्यान पनि देखाइएको छ । अर्कातिर, दरबाङ फ्रेस हाउस तथा तरकारी पसल लेखिएको देखिन्छ । यस्तै, फिल्मका लागि केही पुलहरू समेत तयार पारिएको छ । एउटा पहेलो रंगको बसमा ‘माउन्ट एभरेष्ट टुर’ समेत लेखिएको छ । सन् २०२१ म रिलिज भएको फिल्म ‘द आइस रोड’को सिरिजको रुपमा तयार भइरहेको यो फिल्मको सेट हेर्दा दुरुस्तै नेपाललाई उतारिएको छ ।
अष्ट्रेलीयाको संघीय र राज्य सरकारले यो फिल्मलाई आर्थिक सहायता दिने घोषणा समेत गरेको छ । यसले, अष्ट्रेलीयाको भिक्टोरिया राज्यको पर्यटन प्रवर्द्धनमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास पनि गरिएको छ ।
नेपालको दृश्य देखाउनका लागि फिल्मका निर्माताले अष्ट्रेलीयामा नक्कली सेट बनाएका छन् । तर, नेपालमा विदेशी फिल्मलाई आकर्षित गर्ने भनिए पनि यस्ता कुराहरू कागजमा मात्र सीमित राखिएको छ । जसलेगर्दा, विदेशी मेकरहरु नेपाल आउन छाडेर अन्य देशमा नक्कली सेट बनाइरहेका छन् ।
प्रतिक्रिया