विदेशी फिल्म देखाउन खोलिएका हलमा नेपाली फिल्म देखाएर माथि पुगिन्छ ? : नीर शाह

नेपाली फिल्म क्षेत्रका वरिष्ठ कलाकार नीर शाहले नेपाली फिल्म क्षेत्र माथि जान नसक्नुको मुख्य कारण पूँजीको व्यवस्थापन हुन नसक्नु रहेको बताएका छन् । निफ फिल्म फेस्टिभलको उद्घाटन  समारोहमा बोल्दै उनले पूँजी व्यवस्थापन नभएसम्म फिल्म क्षेत्र माथि जान नसक्ने दाबी गरे ।

यस्तै, उनले फिल्म क्षेत्र राष्ट्रिय उद्योग नभएको पनि जिकिर गरे । उनले, फिल्म निर्माण हुने भएकाले फिल्म क्षेत्र भन्न मिल्ने तर राष्ट्रिय उद्योग भन्न नमिल्ने बताए । 

उनले, आजका दिनसम्म आइपुग्दा पनि फिल्मका लागि वित्तीय व्यवस्थापन गर्न नसक्नु दुःखद कुरा भएको बताए । 

उनले घुमाउरो तरिकाले नेपाली फिल्मले विदेशी फिल्म रिलिज गर्नका लागि खोलिएका हलहरुमा प्रतिस्पर्धा गर्नु परेको आरोप समेत लगाए ।

उनले भने–‘आफ्नो सामान बेच्नका लागि पसल नै छैनन् भने तपाई कसरी सामान बेच्न सक्नुहुन्छ ? जुन देशमा नेपाली फिल्म देखाउने हल नै छैनन्, त्यो देशमा कसरी फिल्मको विकास हुन्छ ? देशभर जम्मा १ सय ६९ वटा पर्दा छन् । त्यो पनि आयातित सामग्रीले प्राथमिकता पाउने गरि खोलिएका पसलहरूमा आफ्नो सामानहरू बेच्नका लागि राखेर हामी माथि पुग्छौँ त ? ३३ वटा जिल्ला रहेछ नेपालमा, जहाँ अझै एउटा पनि फिल्म हलहरु छैनन् यो त गाउँ गाउँमा, वडा वडामा फिल्म हलहरु स्थापित हुन सक्नुपर्ने थियो नी । यसो गर्दा सय करोड भन्दा माथिको कर्मको रुपमा अथवा उद्योगको रुपमा स्थापित हुन सक्ने संभावना देखिएको छ ।’

वरिष्ठ कलाकार शाहले नेपालमा खोलिएका हलहरु विदेशी फिल्मलाई प्रसय दिने गरेको आरोप समेत लगाए । 

उनले, बजारका दृष्टिकोणले पनि फिल्म क्षेत्रलाई खुम्च्याएर राखिएको बताए । उनले अगाडि भने–‘स्टूडियो भनेर दौडिएका छौँ, विधेयक भनेर दौडिएका छौँ, कानुन भनेर दौडिएका छौँ । जुन मुख्य मुद्दामा हामीले फिल्म क्षेत्रलाई उभ्याउन पर्ने(पूँजी र बजार) हो त्यसमा ध्यान दिन सकेका छैनौं ।’

फिल्म क्षेत्रलाई माथि लैजानका लागि पूँजी र बजारको विषयमा बहस गर्न आवश्यक रहेको नीर शाहको भनाई थियो ।