चिसो महिनामा चिस्सियो फिल्मको व्यापार
नेपाली फिल्म मेकरहरु चिसो महिनामा फिल्मको व्यापार नै हुँदैन भनेर डराउँछन् । उसो त, चिसो महिनामै बलिउडका फिल्महरूले नेपाली बजारबाट करोडौं रूपैयाँ लगिसकेका छन् । ‘एनिमल, सलार, डंकी’ जस्ता फिल्मले नेपाली बजारबाट राम्रो पैसा कमाए । अझ, जनवरी २५ बाट रिलिजमा आउन लागेको बलिउड फिल्म ‘फाइटर’ले पनि नेपाली बक्स अफिसलाई तताउने अपेक्षा गरिएको छ ।
तर, चिसो महिनामा हिन्दी फिल्मले मालामाल व्यापार गरिरहेको समयमा नेपाली फिल्मको व्यापार भने चिसिएको छ । बक्स अफिस आँकडामा नेपाली फिल्मको व्यापारको अवस्था दयनीय नै छ ।
कार्तिकको २४ गते तिहारको अवसरमा रिलिज भएको फिल्म ‘दिमाग खराब’ले सुखद कमाई गरेपछि नेपाली फिल्मको व्यापार सुस्ताएको हो । यतिसम्म कि, जाडो महिनामा नेपाली फिल्म रिलिजको गति पनि सुस्तायो ।
मङसिर महिनामा ‘जम्प र दुई कदम’ नाम दुई फिल्म रिलिज भए । यी दुवै फिल्म हलमा लागेको पनि दर्शकले राम्रोसँग थाहा पाएनन् । फिल्म ‘दुई कदम’को प्रचारमा त कलाकारले राम्रै समय दिएका थिए । तर, चर्को प्रचार र देश दौडधुपले पनि फिल्मको व्यापारलाई लाखमा पुर्याउन सकेन । मङसिर महिनामा अरु निर्माताले त फिल्म रिलिज गर्ने आँट नै गर्न सकेनन् ।
पौष महिनामा पनि दुई वटा मात्र फिल्म रिलिज भए । पौष महिनामा ‘चित्रा र पर्खि बसेँ तिमीलाई’ रिलिज भइरहेका छन् । यी दुवै फिल्मको व्यापार सन्तोषजनक छैन । समीक्षागत रुपमा भने दुवै फिल्मले राम्रो प्रतिक्रिया पाएका छन् ।
तर, चिसो महिनामा रिलिज भएका दुई फिल्मले शुक्रबार र सोमबारको बिदाको फाइदा राम्रोसँग उठाउन सकेनन् । दर्शकको प्रतिक्रियाले फिल्मको व्यापार बढ्नेमा निर्माणपक्ष विश्वस्त देखिएको छ ।
फिल्म ‘चित्रा’का कार्यकारी निर्माता तथा कलाकार सन्तोष अधिकारी स्कुलबाट बस नै लिएर विद्यार्थीहरू हलसम्म पुग्न थालेकाले व्यापार बढ्नेमा विश्वस्त देखिएका छन् ।
माघ महिनामा पनि फिल्म रिलिज गर्न निर्माताले ठूलो दिल बनाएका छैनन् । यो मितिमा सुरुवातमा ४ फिल्म रिलिज हुने चर्चा थियो । तर, माघको १४ गतेबाट रिलिज हुने भनिएको फिल्म ‘नम्बरी सुन’को प्रदर्शन पोस्टपोन्ड भइसकेको छ । यो फिल्मको बारम्बार मिति पोस्टपोन्ड गरेर निर्माताले फिल्म रिलिजको आँट नै गर्न सकेका छैनन् ।
यस्तै, माघको २६ गतेबाट रिलिज हुने भनिएको फिल्म ‘हनी बनी’ पनि रिलिज नहुने पक्का भइसकेको छ । अब, यो मितिमा ‘हात्तीछाप र दयारानी’ मात्र रिलिज हुँदैछन् । चिसो महिना सकिनै लाग्दा रिलिज हुन लागेका यी दुई फिल्मले बक्स अफिस तताउने विश्वास गरिएको छ ।
तर, तीन महिनामा जम्मा ६ वटा फिल्म मात्र रिलिज हुने पक्का भएको छ । यसले पनि चिसो महिनाले नेपाली फिल्मलाई कसरी चिस्याएको छ भन्ने प्रष्ट हुन्छ । जबकी, फागुन महिनामा मात्र ५ वटा फिल्म रिलिजका लागि तयार भएका छन् ।
हिन्दी फिल्मको मारामार व्यापार र नेपाली फिल्मको दयनीय बक्स अफिस कलेक्शनले चिसो महिनाका कारण भन्दा पनि फिल्मप्रति दर्शकको आकर्षण कम भएको प्रष्ट हुन्छ ।
प्रतिक्रिया