‘प्रेमगीत ३’बाट बिग्रिएको सम्बन्ध सुधार्दै प्रदीप र भुवन
चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसी र नायक प्रदीप खड्काबिचको सम्बन्धमा गतबर्ष निकै खटपट आयो । फिल्म ‘प्रेमगीत ३’लाई असफल बनाउनका लागि भुवन केसीले लागिपरेको र पदको दुरुपयोग गरेको आरोप प्रदीपले लगाए । प्रदीपले त भुवन केसी विकास बोर्डको अध्यक्ष पदका लागि लायक समेत नभएको कठोर टिप्पणी गरे ।
उनीहरूको सम्बन्धमा शीतयुद्ध आएपछि यसको प्रभाव नायक अनमोल केसी र प्रदीप खड्काको सम्बन्धमा समेत पर्यो ।
तर, मंगलबार आयोजना भएको ‘निफ फिल्म फेस्टिभल’को घोषणा समारोहमा भने फरक दृश्य देखियो । कार्यक्रममा सुरुवातमै पुगेका नायक खड्कालाई आयोजकले गतबर्षको विजेता भन्दै स्टेजमा बोलायो । त्यसको केही समयपछि आएका चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसी पनि हात मिलाउँदै प्रदीपको छेउमै बसे ।
भुवन केसीलाई देखेपछि हात मिलाउँदै प्रदीप मुस्कुराएका थिए । उनीहरूले कार्यक्रम अवधीभर निकै कुराकानी समेत गरेको देख्न सकिन्थ्यो ।
भुवनले प्रदीपको हात समात्दै केही कुराहरू शेयर गरेका थिए । प्रदीप र भुवनले कार्यक्रमको अवधीभर आफूहरूको बिग्रिएको सम्बन्धलाई सुधार गर्न मिहिनेत गरेको देखियो । कार्यक्रममा मन्तव्य दिने क्रममा भुवनले प्रदीपलाई ‘सुपरस्टार’ भन्दै सम्बोधन गरे ।
नेपाली फिल्म क्षेत्रमा कोही पनि लामो समयसम्म दुस्मन र लामो समयसम्म मित्र हुँदैनन् भनिन्छ । भुवन र प्रदीपको सम्बन्धमा पनि यस्तै देखिएको छ । भुवन र प्रदीपले यो सम्बन्धलाई क्यामेराको अगाडि मात्र नभएर क्यामेराको पछि पनि निरन्तरता दिन आवश्यक छ ।
प्रतिक्रिया