सुपरहिट हुन्छ भन्ने फिल्मकै गीत किन चलेन ?

फिल्म जात्रा र जात्रैजात्रा फेन्चाइजको तेस्रो शृङ्खला ‘महाजात्रा’ को निर्माण पक्षले प्रचार–प्रसार गर्ने हेतुले सोमबार एउटा प्रमोसन गीत सार्वजनिक गर्यो ।

चैत्रको ९ गतेबाट रिलिजमा आउन लागेको यस फिल्ममा समावेश ‘आहा क्या राम्रो’ बोलको गीतमा आशिष अविरल र अस्मिता अधिकारीको स्वर रहेको छ । एक नारायण भण्डारीको शब्द र आशिष अविरलकै संगीत समावेश रहेको गीत ओएसआर डिजिटलको युट्युब च्यानलबाट सार्वजनिक गरिएको २ दिन समेत भइसकेको छ ।

महाजात्रा निर्माण टिमले सार्वजनिक गीत फिल्मले लोकप्रियता र व्यापारमा फाइदा पुगोस् भन्ने आङ्कलन सहित ल्याएको हो । हुन त, यस फिल्मलाई उत्कृष्ट फिल्मको रूपमा चित्रित गरिँदै छ भने अबको बक्सअफिस व्यापारमा ठूलो बाढी ल्याउने र सुपरहिट हुन्छ भनेर एक कान दुई कान हुने गरी मुल्याकंन समेत गरिँदै छ ।

महाजात्रा निर्माण टिमले यही कारण फिल्मको चर्चाका लागि गीतले लोकप्रियता पाओस् र फिल्मको व्यापारमा समेत फाइदा पुगोस् भन्दै सेट निर्माणदेखि कोरससम्म सम्झौता नगरी लाखौँ खर्च हुने गरी भिडियो निर्माण गर्यो । जस अनुसार फिल्मका लागि गीतको अडियो र भिडियोमा ठूलो रकम खर्च गर्दै निर्माण गरिएको देखिन्छ । खुलामञ्चमा आकर्षक सेट बनाएर खिचिएको यो गीतको छायांकनमा मात्रै ५ दिन लागेको थियो ।

यो गीतको भिडियोलाई कविराज गहतराजले कोरियोग्राफी गरेका छन् । भिडियोमा अतिथि कलाकारद्वय अरुण क्षेत्री र आश्मा विश्वकर्माको डान्स हेर्न सकिन्छ । भिडियो रोमान्टिक र डान्सिङ भावमा तयार पारिएको छ । फिल्मका मुख्य कलाकारहरू विपिन कार्की, रवीन्द्र झा, रवीन्द्र सिंह बानियाँ र वर्षा राउतलाई पनि बिचबिचमा छिराएर नृत्य समेत गराइएको छ । गीतको कोरियोग्राफी झिल्के-मिल्के र तड्क भड्क रहेको देखाउन खोजिएको छ । तर, भिडियोकालागि जति तड्क भडक भए पनि ‘आहा क्या राम्रो’ गीत युट्युबमै चल्न सकस देखिएको छ । गीतको अडियो र भिडियोले दर्शकको मन जित्नै सकिरहेको छैन।

गीतले फिल्मको अपेक्षाकृत माहोल बनाउन नसकेको हो कि भन्ने ठहर्‍याउन सकिन्छ । यतिबेला अडियो र भिडियो नचलेपछि निर्माण टिम यसलाई कसरी हुन्छ चलाउनै पर्ने दबाबमा पनि देखिन थालेको छ । उनीहरू जसरी हुन्छ २ दिन सम्म लाख भ्यूज कटाउन नसकेको गीतलाई सकेसम्म लाखौँ भन्दा बढी भ्यूज बटुल्न तिर लागि परिरहेका छन् ।

त्यसो त, नाम चलेका कलाकारहरू अगाडि हुनु, उत्कृष्ट फिल्म हुन्छ भन्नु र फिल्मको गीतप्रति दर्शकको आकर्षण नहुनुले निर्माण पक्षलाई केही हदसम्म धक्का लागेकै हो। गीतले महाजात्रा टिमका लागि सोचेजस्तो छनक दिन नसके पनि अब रिलिज हुन बाँकी अन्य सामग्रीले कस्तो प्रतिक्रिया पाउँछन् त्यो भोलिका दिनमा थाहा पाउन सकिन्छ ।

षट्कोण आर्ट्सको ब्यानरमा निर्माण भएको यो फिल्ममा प्रदीप भट्टराईको लेखन तथा निर्देशन रहेको छ । रविन्द्र सिंह बानियाँ कार्यकारी निर्माता रहेको ‘महाजात्रा’को निर्माता म्याक्स दीपेश खत्री र यज्ञश्वर पौडेल हुन् । फिल्ममा पुरुषोत्तम प्रधानको छायांकन, मित्र डी गुरुङको सम्पादन छ ।