‘म आकस्मिक कलाकार हुँ, फिल्मको बारेमा धेरै वुझेको छैन’: प्रदीप खड्का
नायक प्रदीप खड्काले आफू आकस्मिक कलाकार भएको बताएका छन् । काठमाडौंमा आज आयोजना भएको निफ फिल्म फेस्टिभलको घोषणा कार्यक्रममा बोल्दै प्रदीपले आफूलाई आकस्मिक कलाकारको रुपमा चित्रित गरेका हुन् ।
उनले भने–‘मैले फिल्म धेरै बुझेको छैन । मजाक मजाकमा यो गर्दा हुन्छ कि त्यो गर्दा हुन्छ भन्न खोज्दा खोज्दै अहिले कलाकार भएको छु । मैले अझै पनि फिल्म के हो, फिल्म मेकिङ के हो भन्ने बुझ्न बाँकी छ जस्तो लाग्छ । आजसम्मको मेरो वुझाईमा फिल्म भनेको कलाको समिश्रण नै हो जस्तो लाग्छ ।’
नायक खड्काले कार्यक्रममा फिल्मलाई संचार मन्त्रालय अन्तर्गत राखिएकोमा घुमाउरो तरिकाले असन्तुष्टि पोखे ।
उनले भने–‘फिल्ममा साहित्यको विभिन्न विधा पर्छ । यसमा अभिनय, कथा लेखन र संगीत सबै पर्छ । कलाका विभिन्न पाटाहरूको समिश्रण नै फिल्म हो जस्तो मलाई लाग्छ । फिल्मले प्रचारको पनि राम्रो भूमिका खेलेको छ जस्तो लाग्छ । तर, यो फिल्मको विधा संचार मन्त्रालय अन्तर्गत बसेको छ । यो पर्यटनको विधा हो कि संस्कृतिको विधा हो भन्ने प्रश्न उठ्छ । किन हामीले फिल्मलाई संस्कृतिको रुपमा प्रचार गर्न सकिरहेका छैनौं ?’
नायक खड्काले संचारमन्त्रालय अन्तर्गत चलचित्र विकास बोर्ड रहँदा फिल्मलाई प्रोपोगान्डाको रुपमा हेरिएको छ कि भन्ने आशंका व्यक्त गरे । उनले अगाडि भने–‘यदि, फिल्मलाई संकृती मन्त्रालय अन्तर्गत राखिने हो भने यसलाई संकृतीको प्रचार गर्ने माध्यमको रुपमा हेरिन्थ्यो कि ?’
प्रतिक्रिया