चैत्र १ देखि ५ गतेसम्म ‘निफ फिल्म फेस्टिभल’ हुने
नेपाल इन्टरनेशनल फिल्म फेस्टिभल (निफ)को सातौं सँस्करणको घोषणा गरिएको छ । आज काठमाडौंमा एक कार्यक्रमको आयोजना गर्दै सातौं सँस्करण चैतको १ देखि ५ गतेसम्म हुने जानकारी दिइएको हो ।
नेपाल फिल्म एन्ड कल्चरल एकेडमीले मंगलबार नेपाल पर्यटन बोर्डको हलमा महोत्सवमा प्रदर्शन हुने फिल्महरूको सूची सार्वजनिक गर्दै महोत्सव अवधिभर समसामयिक विषयमा स्वदेशी तथा विदेशी फिल्मीकर्मीहरुसँग छलफल गर्ने पनि उल्लेख गरेको छ ।
महोत्सवका अध्यक्ष केपी पाठकले फिल्मको लाइनअप सार्वजनिक गर्दै यो सँस्करणमा ६० देशका ५०० बढी फिल्म प्राप्त भएको जानकारी दिँदै छनोट समितिले ४० देशका ८८ वटा फिल्म छानिएको बताए ।
‘निफलाई प्राप्त फिल्मको संख्याले हामीलाई उत्साहित बनाएको छ । फिल्म आउने यो अनुपात हेर्दा ५ दिनमा पनि नभ्याउने स्थिति बनिरहेको छ ।’ पाठकले भने ।
निफमा यो पटक छनोटमा परेका थुप्रै फिल्महरू कान्स, लोकार्नो, बर्लिन आदि प्रतिष्ठित फेस्टिभलमा पनि प्रदर्शन भइसकेको जानकारी पत्रकार सम्मेलनमा गराइयो । कार्यक्रममा चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसी, कलाकार नीर शाह, नायक प्रदीप खड्का लगायतले शुभकामना दिएका थिए ।
निफमा यो सँस्करण पनि अघिल्लो सँस्करण जस्तै राष्ट्रिय र अन्तर्राष्ट्रिय दुई भागमा विभाजन गरी अवार्ड बाँडिनेछ भने लघु फिल्म र वृत्तचित्र विधामा पनि अवार्ड वितरण गरिनेछ ।
प्रतिस्पर्धामा रहेका फिल्मको प्रदर्शनसँगै महोत्सव अवधीभर फिल्म निर्माणका विभिन्न विधासँग सम्बन्धित रहेर कार्यशाला, छलफल र अन्तक्रिर्याका कार्यक्रम पनि आयोजना गरिने आयोजकले बताएको छ । महोत्सवमा प्रदर्शन हुने फिल्महरूलाई क्यूएफएक्स सिनेमाका शाखाहरू सिभिल मल, लबिम मल, भक्तपुर र छायाँ सेन्टरका हलमा प्रदर्शन हुनेछन् ।
महोत्सवमा अन्तर्राष्ट्रिय प्रतिस्पर्धा अन्तर्गत सर्वोत्कृष्ट फिचर फिल्मलाई १५ सय अमेरिका डलर राशिसहित ‘गौतम बुद्ध अवार्ड’ प्रदान गरिनेछ । त्यस्तै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय फिचर फिल्महरू मध्येबाट एउटालाई ‘फिल्म समाजहरुको अन्तर्राष्ट्रिय महासंघ, आईएफएफएस डन क्विहोटे अवार्ड’ प्रदान गरिनेछ ।
यस्तै, यो महोत्सवमा सर्वोत्कृष्ट वृत्तचित्रलाई एक हजार डलर राशिको माउन्ट एभरेष्ट अवार्ड र सर्वोत्कृष्ट लघु चलचित्रलाई ५ सय राशिको बागमती अवार्ड प्रदान गरिनेछ । यसैगरी नेपाली प्रतिस्पर्धा अन्तर्गत उत्कृष्ट फिचर फिल्मलाई १ लाख नगद र ट्रफी, उत्कृष्ट सर्ट फिल्म र उत्कृष्ट वृत्तचित्रलाई ५० हजार नगद र ट्रफी प्रदान गरिनेछ ।
सर्ट फिल्ममध्येबाट उत्कृष्ट निर्देशकलाई ट्रफी प्रदान गरिनेछ भने फिचर फिल्म तर्फका उत्कृष्ट निर्देशक, लेखक, छायांकार, अभिनेता र अभिनेत्रीलाई पनि ट्रफी प्रदान गरिनेछ ।
यस्तै, यो बर्षबाट ‘अडियन्स च्वाइस अवार्ड’ शीर्षकमा पनि अवार्ड वितरण गरिने आयोजकले जनाएको छ ।
प्रतिक्रिया