धिरजसँग नायिकाः सुहानाको आशा फेल भयो, उपासनाको के होला ?
नायिका सुहाना थापाले नायक धिरज मगरसँग जोडी बाँध्नका लागि आफू सधैं उत्साहित भएको बताइन् । फिल्म ‘एक भगवत र एक गीता’मा काम गर्नु अगाडि धिरजसँग काम गर्न सुहाना निकै उत्साहित थिइन् ।
उनले, बारम्बार आफ्नो मनपर्ने नायक धिरज भएको बताएकी थिइन् । सुहानाको चाहना अनुसार, उनले आफ्नै होम प्रोडक्शनको ब्यानरमा धिरजसँग काम गरिन् । तर, फिल्मले बक्स अफिसमा सफलता कायम गरेन । उसो त, फिल्म रिलिज अगाडि धिरजसँग सुहाना त्यति सकारात्मक देखिएकी थिइनन् ।
किनकी, धीरजले फिल्मका लागि महँगो पारिश्रमिक मागेकोदेखि प्रमोसनका क्रममा पनि साथ नदिएको बुझाई सुहानाको थियो । यस कारण, धिरज र सुहानाको जोडी काम गर्नु अगाडि जति प्रतीक्षित थियो, काम गरेपछि कमजोर देखियो ।
नायिका जसिता गुरुङ र धिरजको प्रेम चर्चा नै चल्यो । उनीहरू, फिल्म क्षेत्रमा आउनु अगाडि नै प्रेम सम्बन्धमा रहेको भन्ने खालका खबरहरू पनि सार्वजनिक भयो । यसले पनि यी दुईको जोडीलाई फिल्ममा हेर्न दर्शक प्रतिक्षारत रहेको मेकरहरुको बुझाई थियो । निर्देशक रेनशा वान्तवा राईले धिरज र जसितालाई लिएर फिल्म ‘ज्याकीः आई एम ट्वान्टी वान’ बनाइन् । फिल्म रिलिज अगाडि दुईको चर्चा जति भयो, रिलिजपछि सुनसान बन्यो । रेनशाको धिरजप्रतिको बढी आशाका कारण फिल्ममा जसिता फुक्न सकिनन् ।
धिरजसँग काम गर्नका लागि आफू सबैभन्दा बढी उत्साहित रहेको नायिका उपासना सिंह ठकुरीले पनि बताउँदै आएकी थिइन् । उनले, बारम्बार आफ्ना अन्तवार्तामा धिरजसँग काम गर्न चाहेको इच्छा व्यक्त गरिन् । अब, फिल्म ‘खुस्मा’बाट उपासनाको यो चाहना पुरा हुँदैछ ।
फिल्मको शुभ साइत समारोहमा पनि उपासना आफ्नो चाहना पुरा भएकोमा खुशी देखिइन् । उनले, फिल्ममा आफू र धिरजलाई दर्शकले नयाँ शैलीको प्रेमकथामा हेर्न पाउने बताइन् ।
धिरजप्रति काम गर्नु अगाडि नायिकाहरूको चाहना र उत्साह बेग्लै देखिएको छ । तर, फिल्म चलेपछि भने व्यापारिक रुपमा सफलता कायम नहुँदा उनीहरूको चाहना फितलो बनेको छ ।
उपासनालाई आफैंमा पनि ‘लक्की’ नायिका मानिन्छ । यस्तो अवस्थामा धीरजले ‘सोल्टिनी’ भनेर सम्बोधन गरेकी उपासनासँग उनको जोडी कत्तिको सुहाउँछ, फिल्म रिलिजपछि थाहा हुनेछ ।
प्रतिक्रिया