अनमोल–जसिताको ‘फर्की फर्की’मा सलोनको इन्ट्री
काठमाडौंमा दोस्रो सेड्यूलको छायांकन सुरु भएसँगै फिल्म ‘फर्की फर्की’मा नायक सलोन बस्नेतको इन्ट्री भएको छ । आइतबार राती ठमेलको एक क्लबमा नायक सलोन बस्नेत पनि सेटमा भेटिए ।
फिल्मका निर्माता रोहित अधिकारीले सलोनको पनि फिल्ममा प्रवेश भएको बताउँदै उनको भूमिकाबारे अहिले केही पनि खुलाउन नमिल्ने उल्लेख गरे ।
छायांकन सेटमा नायकद्धय अनमोल केसी र सलोन बस्नेत एकैसाथ भेटिए । यी दुई कलाकारले एकैसाथ केही फिल्ममा सहकार्य गरेका छन् । दुईको सहकार्य फिल्म ‘होस्टेल’बाट सुरु भएको थियो । यसपछि, अनमोल मुख्य नायक भएको अधिकांश फिल्ममा सलोनको पनि अभिनय रहने गरेको छ ।
फिल्मका निर्देशक सुयोग गुरुङ एक्सन र कटमा व्यस्त देखिए । फिल्मका प्रोडक्शन हेड शंकर पाण्डेले पहिलो सेड्यूलमा उत्कृष्ट काम भएको भन्दै दोस्रो सेड्यूलमा अब केही दृश्य र चार वटा गीत खिचिने जानकारी दिए ।
फिल्ममा नरेन्द्र मैनालीको छायांकन छ । फिल्ममा सलोनको इन्ट्री भएकोमा आफूलाई खुशी लागेको नायक अनमोल केसीले बताए । उनले फिल्मको बारेमा भने–‘मैले आजसम्म ९ वटा फिल्ममा काम गरे । तर, यो फिल्ममा काम गर्दा मलाई छुट्टै आनन्द आइरहेको छ । फिल्मको टिम निकै नै राम्रो छ । जसले गर्दा, फर्की फर्की मेरो लागि पनि विशेष बनिरहेको छ ।’
फिल्ममा अनमोल केसी, जसिता गुरुङ, कृष्ण मल्ल, निर्मल शर्माको साथमा नव–कलाकारद्धय रवि काफ्ले र समृद्धी अर्यालको मुख्य भूमिका छ । यो फिल्मलाई जेठको ११ गतेबाट रिलिज गर्ने तयारीमा निर्माता अधिकारी छन् । फिल्ममा ओएसआर डिजिटलको पनि सहकार्य छ । फिल्ममा मनोज वली र रामु न्यौपाने सह–निर्माताको रुपमा छन् ।
प्रतिक्रिया