मेरोफिल्म समाचार प्रभावः ‘क्याप्टेन मिलर’ शुक्रबार नै रिलिज गर्ने प्रदर्शकलाई कारवाही गरिने

साउथको हिन्दी डब फिल्म ‘क्याप्टेन मिलर’लाई नियम विपरीत शुक्रबारदेखि नै रिलिज गरिएको समाचार मेरो फिल्म डट कमले प्रकाशित गरेपछि चलचित्र विकास बोर्डले यस विषयमा गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । 

बोर्ड अध्यक्ष केसीले आज शनिबारदेखि मात्र फिल्म रिलिज हुने गरी ‘मुभी कोर्ड’ उपलब्ध गराएकोमा सोको अघिल्लो दिन अर्थात् शुक्रबारदेखि नै फिल्म प्रदर्शन गरिनु नियम विपरीत कार्य भएको हुँदा यस विषयमा तत्काल जाँचबुझ गरी आवश्यक कारबाही गरिने बताएका छन् । 

यस्तै, चलचित्र विकास बोर्डका सदस्य के.एल पीडितले पनि मेरो फिल्मसँग कुरा गर्दै भने–‘यो विकास बोर्ड र सम्बन्धित निकायबीच भएको सहमति हो । तर, आफैले सहमति गर्दै नियम तोड्ने हो भने त सहमतिको अर्थ हुँदैन । यो विषयमा बोर्डमा पनि कुरा उठेको छ । कि त नियम हटाउनुपर्छ, कि त उल्लंघन गर्नेलाई कारबाही गर्नुपर्छ ।’

यो विषयमा विकास बोर्डको गम्भीर ध्यानाकर्षण भएको भन्दै पीडितले अध्यक्षसँग छलफल गरेर कारबाही प्रक्रिया अगाडि बढाउने बताए । 

चलचित्र विकास बोर्डबाट सेन्सर सिफारिस लिएको ४ दिनपछि मात्र फिल्म रिलिज गर्नुपर्ने प्रावधान छ । तर, फिल्म ‘क्याप्टेन मिलर’लाई भने प्रदर्शकहरुले विकास बोर्डको निर्देशन विपरीत शुक्रबारदेखि नै रिलिज गरेका थिए । 

अब, विकास बोर्डले आफैले बनाएको नियम उल्लंघन गर्ने प्रदर्शक विरुद्ध कस्तो कारबाही गर्छ, मेरो फिल्म डट कमले फलोअप गर्दै जानेछ ।