‘क्याप्टेन मिलर’लाई भोलीबाट मात्र रिलिज अनुमती, तर हलले आजै चलाए

साउथको हिन्दी डब फिल्म ‘क्याप्टेन मिलर’लाई भोलीबाट मात्र रिलिज गर्नु भन्दै चलचित्र विकास बोर्डले प्रदर्शकहरुलाई इमेल गर्यो । चलचित्र विकास बोर्डको इमेल प्राप्त भएपनि प्रदर्शकहरुले भने आजैबाट यो फिल्म रिलिज गरेका छन् । 

विकास बोर्डको इमेल प्राप्त भएपनि प्रदर्शकहरुले निर्देशनलाई अटेर गरेका छन् । तर, चलचित्र विकास बोर्डले आफैले बनाएको नियम र निर्देशनलाई अनुगमन भने गर्न सकेको छैन । 

केही हलमा विकास बोर्डको यही इमेल प्राप्त भएका कारण ‘क्याप्टेन मिलर’को शोज केही ढिला सुरु भएको थियो । विकास बोर्डले जनवरी १३ अर्थात् भोलीबाट मात्र रिलिज गर्नु भन्दै ‘मुभी कोर्ड’ पठाएको छ । 

यो फिल्मलाई नेपालमा एके डिस्ट्रिब्यूशनले वितरण गरेको हो । यो कम्पनीका एक सदस्यले मेरो फिल्मसँग भने–विकास बोर्डबाट इमेल गएको हो । यस विषयमा सायद, विकास बोर्डले नै लचकता देखाएको हुनुपर्छ । यसको जवाफ पनि विकास बोर्डले नै दिनुपर्ने हो ।’

यता, प्रदर्शकहरुले पनि ढुक्कसाथ फिल्म रिलिज गरिरहेका छन् । विकास बोर्डले पनि आफैले दिएको निर्देशनको अवज्ञा भएपनि कानमा तेल हालेर बसेको छ । 

चलचित्र विकास बोर्डमा वितरकले फिल्म अनुमति लिएको ४ दिनपछि मात्र फिल्म रिलिज गर्न पाउँछन् । फिल्म रिलिजको ४ दिन अगाडि नै कागजपत्र प्रस्तुत गर्नुपर्ने नियम विकास बोर्डले बनाएको छ । तर, यो नियमको कार्यान्वयन भने निकै फितलो छ । 

विशेषगरि, अध्यक्ष भुवन केसी आएपछि यो प्रावधान बनेको हो । तर, विकास बोर्डले यसलाई कानुनी रुपमा अगाडि लैजान सकेको छैन । विकास बोर्डले बनाएको यो नियमको विषयमा सूचना तथा संचार मन्त्रालय पनि सकारात्मक छैन । तर, विकास बोर्डले भने नियम बनाइसकेपछि सही कार्यान्वयन गर्न नसकेर असक्षमता देखाइरहेको छ । 

‘क्याप्टेन मिलर’को पनि कागजपत्र प्रस्तुत गरेको भोलि मात्र ४ दिन पुग्ने भएकाले विकास बोर्डले भोलीदेखि मात्र रिलिज गर्न इमेल पठाएको हो । तर, बोर्डले दिएको निर्देशनलाई कुनै पनि प्रदर्शकले टेरेका छैनन् । बोर्डले पनि यस विषयमा कुनै अनुगमन गर्न सकेको छैन ।