प्रतिबन्धित अनलाइन खेलको प्रचारमा स्वस्तिमा र प्रियंकाको तस्विरको दुरुपयोग
केही समय अगाडि नायिका प्रियंका कार्की प्रहरीकोमा पुगिन् । एक प्रतिबन्धित गेम शोको प्रचारमा उनको तस्विर प्रयोग भएपछि प्रहरीले उनलाई सोधपुछका लागि बोलाएको थियो । प्रियंकाले आफूले त्यस्तो प्रतिबन्धित कुनै पनि अनलाइन गेमको प्रचार नगरेको बताएकी थिइन् ।
सामाजिक संजालमा नायिकाहरूको तस्विर प्रयोग गर्दै थुप्रै अनलाइन खेलहरूको प्रचार भइरहेको छ । प्रचारका लागि प्रयोग गरिएका यस्ता सामाग्रीहरुलाई सामाजिक संजालमा राम्रो पैसा खर्च गरेर बुष्ट समेत गरिएको छ ।
यो विषयमा नायिकाहरू जानकार भएपनि, कुनै कदम चाल्न सकिरहेका छैनन् । मेरो फिल्मसँग कुरा गर्दै नायिका स्वस्तिमा खड्काले भनिन्–‘केही समय पहिले त मैले पनि मेरा तस्विरहरू प्रयोग भएको देखेकी थिएँ । तर, अहिले त्यस्ता प्रचारहरु देखेकी छैन । म यस्तो कुरामा सजग भने छु ।’
यस्ता गेम शोहरुको प्रचारमा नायिका स्वस्तिमा खड्कादेखि प्रियंका कार्की, श्रृृष्टी श्रेष्ठ, पूर्व मिस नेपाल श्रृङ्खला खतिवडासम्मका तस्विर प्रयोग भएको पाइएको छ ।
नेपाल सरकारले प्रतिबन्ध लगाएका अवैधानिक अनलाइन खेलहरूको प्रचारमा नेपाली नायिकाहरूको तस्विर दुरुपयोग हुँदा आम मानिसहरूमा भने भ्रम पर्ने गरेको छ । यसैले, यो विषयमा नायिकाहरू पनि सचेत हुन आवश्यक छ ।
प्रतिक्रिया