दुई नयाँ नेपाली फिल्म हलमा, यी दर्शकले 'चित्रा' हेर्न पाउँछन् निःशुल्क

फ्राइडे रिलिज अन्तर्गत आजदेखि दुई नयाँ नेपाली फिल्म प्रदर्शनमा आएका छन् । जसमा घनश्याम लामिछाने निर्देशित चित्रा र दीपक श्रेष्ठ निर्देशित पर्खी बसेँ तिमीलाई प्रदर्शनमा आएका हुन् । आउँदो माघेसंक्रान्तिलाई लक्षित गर्दै प्रदर्शन आएका यी दुई फिल्म फरक फरक विधामा आधारित रहेका छन् ।

फिल्म चित्रामा बाबुले छोरी बचाउन गर्ने सङ्घर्ष मात्रै नभएर सम्बन्ध, मित्रता, पारिवारिक उतारचढाव लगायतका कुरा समेटिएको छ ।

यो फिल्मको गत सोमबार प्रिमियर समेत गरिएको थियो । प्रिमियरपछि प्रतिक्रिया दिएका अधिकांशले फिल्म राम्रो बनेको र कथा मनपरेको बताएका थिए । यही फिल्मबाट सन्तोष अधिकारीले नेपाली रजतपटमा डेब्यु गरेका छन् ।

फिल्ममा डेब्यू अभिनेता सन्तोषका अलावा प्रमोद अग्रहरी, अर्पण थापा, मेनुका प्रदान, शुभेच्छा खड्का, प्रकाश घिमिरे, अञ्जना बराइली, सिम्रन खड्का, आयुशी ढकाल, कुमार गुरुङ, उज्ज्वल ढकालको पनि अभिनय छ । महेश पौडेलको छायांकन रहेको ‘चित्रा’मा राजनराज सिवाकोटीको संगीत छ भने मनिष गौतमको पटकथा एवं संवाद लेखन छ ।

चित्राका निर्माता आशिष थापा मगर हुन् भने सन्तोष अधिकारी कार्यकारी निर्मातामा रहेका छन् । यस्तै, फिल्मको एसोसिएट निर्मातामा राज श्रेष्ठ छन् ।  फिल्ममा बनिश शाह र सन्देश शाहको संयुक्त सम्पादन रहेको छ।

फिल्मको नेपालभरको वितरणको जिम्मा केदार पराजुलीको श्री कृष्ण फिल्म्सले लिएको छ । फिल्मको अष्ट्रेलियाको अधिकार अविनास रोका मगरले लिएका छन् ।

निर्माण टिमले चित्रा १० वर्षमुनिका बालबालिकाले सित्तैमा हेर्न पाउने घोषणा गरेका छन् । फिल्मले बाबुछोरीको मार्मिक कथा पेस गर्ने भएकाले निर्माण पक्षले यस्तो घोषणा गरेको हो । टिकट १० वर्ष मुनिका बालबालिका लागि निःशुल्क भए पनि अभिभावकका लागि भने शुल्क लाग्ने छ । यो सँगै चित्रा नाम भएकाले सो नामको प्रमाण पेस गरेमा ३ वटा टिकट निःशुल्क पाउने छन् ।

यस्तै, अर्को फिल्म ‘पर्खी बसेँ तिमीलाई’ युवापुस्ताको प्रेम र त्यसमा आउने उतारचढावलाई चित्रण गरिएको छ ।

फिल्मले धनाढ्य परिवारकी छोरी र पठाओ चलाएर जीवन चलाउँदै आएको एक युवाको प्रेम कथा प्रस्तुत गर्ने यस फिल्म मार्फत अभिनेत्रीमा रक्षा बुढाथोकी र अभिनेता किरण श्रेष्ठले अभिनयमा सुरुआत गरेका छन् । उनीहरूसँगै अनिसा रसाइलीको पनि फिल्ममा मुख्य भूमिका रहेको छ ।

रोमन फिल्म र तपश्री फिल्म्स (सिक्किम) को संयुक्त ब्यानरमा निर्माण गरिएको फिल्ममा शिव श्रेष्ठ, विल्सन विक्रम राई, सुनिता श्रेष्ठ लगायतका कलाकारले अभिनय गरेका छन् । यसमा राजाराम बुढाथोकीको निर्माण, कोमल गुरुङको सह निर्माण, परिच्छेद सेन, मौनता श्रेष्ठ र पुरुषोत्तम ढुंगेलको लेखन, संकल्प भुजेलको छायांकन, शम्भुजित बाँस्कोटा, दीपक शर्मा, महेश खड्का र बाबुल गिरीको सङ्गीत, भुपेन्द्र अधिकारीको सम्पादन, मनोरञ्जन श्रेष्ठको कलर करेक्सन, रामजी लामिछाने र निशा रसाइलीको नृत्य निर्देशन रहेको छ ।

यसको छायांकन नेपालसँगै सिक्किमको रमणीय दृश्यमा गरिएको छ । फिल्म काठमाडौँ उपत्यकामा करण श्रेष्ठले रीच इन्टरटेनमेन्ट मार्फत र मोफसलमा एफडी कम्पनिले प्रदर्शनका लागि वितरण गर्नेछ ।

यी दुवै फिल्मले देशभरका मल्टिप्लेक्सहरुमा कमजोर शोज पाएका छन् । दुवै फिल्मलाई वर्ड अफ माउथ बलियो चाहिने देखिएको छ ।