श्रृष्टी भन्छिन्–‘ब्रेकडाउन सबैको जीवनमा हुन्छ, सम्हालिनुपर्छ’

नायिका श्रृष्टी श्रेष्ठले गतबर्ष ‘राधा’ फिल्ममा काम गरिन् । यो फिल्मले बक्स अफिसमा अपेक्षित व्यापार नगरेपनि श्रृष्टीको अभिनयको भने चौतर्फी तारिफ भयो । 

यसपछि, श्रृष्टी नायक सौगात मल्लसँग ब्रेकअपका कारण मिडियामा छाइन् । तर, श्रृष्टीले सौगातसँगको ब्रेकअपको विषयमा केही पनि बोलेकी छैनन् । 

तर, बुधबार आयोजित फिल्म ‘११ः ५५’को इन्ड क्ल्याप पार्टीमा मिडियाकर्मीसँग कुराकानी गर्दै श्रृष्टीले ब्रेकडाउनको विषयमा बोलेकी छिन् । 

श्रृष्टीले भनिन्–‘यो प्राकृतिक कुरा हो । सबैको जीवनमा हुन्छ । उतार चढाव भनेको सामान्य कुरा हो । यस्तो अवस्थामा परिवार र साथीहरूको सहयोग त हुन्छ नै । मुख्य कुरा भनेको आफू भित्रबाट नै बलियो हुन आवश्यक छ । म यस्तो अवस्थामा आफूसँग नै जोडिने गर्दछु ।’

श्रृष्टीले जीवनमा उतार चढाव हुने भन्दै सुखमा मात्तिने र दुःखमा आत्तिने काम गर्न नहुने तर्क गरेकी छिन् । घुमाउरो तरिकाले उनले सौगातसँगको ब्रेकअपपछि आफूले आफूलाई सम्हालेको बताएकी छिन् । 

पूर्व मिस नेपाल समेत रहेकी श्रृष्टीले सौगातसँग केही बर्ष डेट गरिन् । उनीहरूले एकसाथ केही फिल्ममा काम पनि गरे । तर, अलग भएपछि भने उनीहरूले आ–आफ्नै तरिकाले काम गरिरहेका छन् ।