आनाले साइन गरेका फिल्म निर्माण हुनै सकेनन्

नायिका आना शर्माले अभिनय गरेको पछिल्लो फिल्म ‘द म्यान फ्रम काठमाडौं’ रिलिज भएको केही बर्ष भइसकेको छ । दर्शकले, उनलाई अझै पनि ‘जेरी’ फिल्मकी नायिकाको रुपमा चिन्छन् । उनले, फिल्म ‘ग्याङ स्टार ब्लूज’मा काम गरेपनि, यसले उनलाई खासै फाइदा दिएन । फिल्म बक्स अफिसमा सफल हुन सकेन । 

यसैले आना सामाजिक संजालमा जति चर्चामा छिन्, फिल्ममा छैनन् । तर, पनि मेकरले आनालाई फिल्ममा साइन भने गराइरहेका छन् । 

नायिका आना शर्माले साइन गरेका फिल्मको छायांकन नै नहुँदा उनलाई समस्या भएको छ । उनले, लकडाउन लगतै प्रवेश पौडेलको निर्देशनमा बन्ने अनटाइटल प्रोजेक्टमा काम गर्ने पक्का भएको थियो ।

फिल्ममा उनीसँगै नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहले पनि काम गर्ने पक्का भएको थियो । तर, कलाकार साइन गराएपछि निर्माताले फिल्मको काम सुरु गर्न नै सकेनन् । फिल्म नबन्दा आनालाई पनि समस्या भयो । 

यसपछि, आनाले फिल्म ‘जेरी अन टप’ साइन गरिन् । यो फिल्म वैशाख महिनामा नै छायांकनमा जानुपर्ने हो । तर, अझै पनि यो फिल्मको छायांकनको अत्तोपत्तो छैन । फिल्मको छायांकन आउँदो बर्षको भदौबाट सुरु हुने बताइएको छ । 

नायिका आना शर्माले फिल्म ‘कामिनो’ पनि साइन गरेकी थिइन् । नायिका नीति शाहले छाडेपछि यो फिल्ममा आना अनुबन्धित भइन् । तर, यो फिल्मको पनि लोकेशन हेर्ने काम बाहेक अरु काम अगाडि बढ्न सकेन । फिल्म अब नबन्ने चर्चा छ । 

यसरीहेर्दा, आनाले साइन गरेका फिल्महरू पनि बन्न सकिरहेका छैनन् । यसले, आनाको करिअरलाई समस्या पारिरहेको छ । 

आनाले नयाँ फिल्म ‘एक्टर’ साइन गरेकी छिन् । यो फिल्ममा उनी नायक प्रदीप खड्कासँग देखिदैछिन् । यो फिल्मको छायांकन केही महिनामा सुरु हुने बताइएको छ । हेरौँ, आनाको यो फिल्मको भने छायांकन सुरु हुन्छ या हुँदैन ?