‘चित्रा’माथि बीग मुभिज किन यति क्रुर ?

नेपाली फिल्मका निर्माताहरूले बारम्बार हलवालाहरु आफूहरूलाई चेप्ने गरेको गुनासो गर्दै आएका छन् । नेपाली फिल्महरूलाई बिहानको शोज दिने, शोज बाँडफाँडमा अन्याय गर्ने गरेको गुनासो त बारम्बार सुनिँदै आएको हो । ५० प्रतिशत सेयर बाँडफाँडमा प्रदर्शकहरुले सहमति जनाएपनि, शोज बाँडफाँडमा भने अझै पनि विभेद गर्दै आएका छन् । 

प्रदर्शकहरुलाई पनि राम्रोसँग थाहा छ कि, नेपाली फिल्मले बिहानीको शोजमा अपेक्षित कारोबार गर्दैनन् । केही ठूला ब्यानर र नाम चलेका कलाकारका फिल्म बाहेक अधिकांश फिल्मका लागि बिहानमा दर्शक नै हुँदैनन् । तर, हलहरुले भने शोज दिनका लागि दिए जस्तो गरेर नेपाली फिल्मलाई किनारा लगाइदिने गरेका छन् । 

भोलि शुक्रबारदेखि रिलिजमा आउन लागेको फिल्म ‘चित्रा’लाई लिएर कमलपोखरीमा रहेको बीग मुभिज क्रूर देखिएको छ । यो हलले ‘चित्रा’लाई जम्मा १ शोज दिएको छ । त्यो पनि बिहानको पौने ९ बजे । 

यही हलमा सोमबार प्रिमियर समेत आयोजना गरिएको थियो । नेपाली फिल्मका मेकरले बीग मुभिजलाई प्रिमियरका लागि पहिलो रोजाइमा राख्ने गरेका छन् । तर, बीग मुभिज भने नेपाली फिल्मप्रति सकारात्मक नदेखिएको गुनासो बारम्बार सुनिन्छ । यसपटक, ‘चित्रा’माथि बीग मुभिजले ठूलो विभेद गरेको प्रष्ट छ ।