दयाहाङ अभिनित ‘गाउँ आएको बाटो’ युरोपको प्रतिष्ठित गोटेबर्ग फेस्टिभलमा छनोट

फिल्म 'गाउँ आएको बाटो' '४७ औं गोटेबर्ग अन्तर्राष्ट्रिय फिल्म महोत्सव, २०२४' मा छनौट भएको छ।

नविन सुब्बा निर्देशित 'गाउँ आएको बाटो' युरोपको महत्वपूर्ण फिल्म महोत्सव स्वीडेनमा छनौट भएको हो। गोटेबर्ग अन्तर्राष्ट्रिय फिल्म महोत्सव , २०२४ जनवरी २६ देखि फेब्रुवरी ४ सम्म चल्नेछ। यही महोत्सवमा फिल्मको युरोपियन प्रिमियर हुने जानकारी निर्माण पक्षले दिएको छ।

गोटेबर्ग अन्तर्राष्ट्रिय फिल्म महोत्सव स्केन्डेभियन क्षेत्रको सबै भन्दा ठूलो महोत्सव मात्र नभएर युरोपको पनि महत्वपूर्ण चलचित्र महोत्सव हो ।

'गाउँ आएको बाटो' राई जातिको सामाजिक पृष्ठभूमिमा बनेको फिल्मले गाँउमा सडक आए पछि बाबु छोराको सम्बन्धमा आउने उतारचढावलाई नियाल्ने प्रयास गरिएको छ । यस फिल्ममा दयाहाङ राई, पशुपति राई, प्रसन राई, केशव राई, सुमित्रा राई, राज थापा र प्रेम सुब्बा लगायतका कलाकारको अभिनय रहेको छ।

यो फिल्मको टोरोन्टो फिल्म महोत्सवमा विश्व प्रिमियर भएको थियो भने वुसान अन्तर्राष्ट्रिय फिल्म महोत्सव, एशियन प्रिमियर , मामी मुम्बईमा साउथ एशियन प्रिमियर भइसकेको छ। निर्माण पक्षले फिल्म विश्वको एकपछि अर्को प्रतिष्ठित फिल्म महोत्सवमा छनौंट हुनुलाई नेपाली फिल्मलाई विश्वले स्वीर्कान थालेको र नेपाली फिल्मको क्षमता विस्तारका रुपमा बुझ्न सकिने प्रतिक्रिया दिएको छ।

सामुदायिक लगानीको अवधारणामा यो फिल्म निर्माण भएको हो । 'गाउँ आएको बाटो' देशभित्र र विश्वका विभिन्न देशहरूमा छरिएर रहेका नेपालीहरूको सामुहिक लगानी छ ।

यो फिल्म छोमोलोङमा प्रोडक्सन र गाँउघर फिल्म प्रडक्सनको सहयोगमा मेन्छ्याम पिक्चर्सको ब्यानरमा निर्माण भएको हो। नेपालमा यो फिल्म बाँसुरी फिल्मसको संयोजनमा नेपालमा २०८१ जेठ १८ बाट सार्वजनिक प्रर्दशनमा आउने छ।