हलिउड कलाकार ब्रुस डर्नले ‘भुठान’ फिल्म गर्ने
हलिउडका चर्चित कलाकार ब्रुस डर्नले नेपाली फिल्म ‘भुठान’मा काम गर्ने पक्का भएको छ । फिल्मका निर्देशक विनोद पौडेलले ब्रुसले अभिनय गर्न लागेको पुष्टि गरेका छन् । उनले, डर्नलाई एजेन्सीको मार्फत स्क्रिप्ट पठाएको बताएका छन् । सुरुवातमा आफूलाई उनले स्क्रिप्ट नै पढ्छन् जस्तो नलागेको विनोदको भनाई छ ।
यो फिल्मका लागि कलाकारद्वय हरिवंश आचार्य र दयाहाङ राई फाइनल भइसकेका छन् । फिल्ममा अभिनय गर्नका लागि हरिवंश अमेरिकामा छन् । विगत केही समयदेखि यो फिल्मको छायांकन अमेरिकामा भइरहेको छ । हलिउड कलाकार ब्रुस सन् १९७९ मा फिल्म ‘कमिङ होम’बाट दुई पटक अस्करको मनोनयनमा समेत परेका थिए ।
फिल्म ‘भुठानी’ले अमेरिकाको ओहायो पेन्सिल्भेनिया क्षेत्रमा बसोवास गर्ने भुटानी–नेपाली शरणार्थीहरुको कथालाई उठान गरेको छ । फिल्मले उनीहरूको अवस्था र विस्थापनको लडाइको कथालाई सूक्ष्म रुपमा प्रस्तुत गर्नेछ ।
फिल्म ‘बुलबुल’ निर्देशन गरेपछि निर्देशक विनोद पौडेलको चर्चा बढेको हो । यो फिल्मले विभिन्न अन्तर्राष्ट्रिय अवार्ड समेत जितेको थियो ।
फिल्म ‘भुठान’मा जोयस पाण्डे, अनुराधा मजुमदार, पूजा चन्द लामा, ऋचा घिमिरे, अदिति प्याकुरेल लगायतका कलाकारको पनि अभिनय रहनेछ ।
प्रतिक्रिया