रुम्जाटारमा दयाहाङ, नख्खुमा मिरुना
आजबाट दुई नेपाली फिल्मको छायांकन सुरु गरिएको छ । रामबाबु गुरुङको निर्देशनमा तयार भइरहेको फिल्म ‘डिग्री माइला’को दोस्रो सेड्यूलको छायांकन आजबाट सुरु भएको हो ।
रुम्जाटारमा क्यामेरा पूजा गर्दै नायक दयाहाङ राईले फिल्मको छायांकन सुरु गरे । यो फिल्मको पहिलो सेड्यूलको छायांकन सकिएको केही महिनापछि दोस्रो सेड्यूलको छायांकन सुरु गरिएको हो । फिल्ममा दयाहाङसँगै नायिका आँचल शर्मा, कलाकार विजय बराल लगायतको अभिनय छ ।
यो फिल्मको प्रदर्शन मिति चैत्र ३० गतेलाई तय गरिएको छ । रुम्जाटारमा ‘डिग्री माइला’को दोस्रो सेड्यूलको छायांकन सुरु भइरहँदा निर्देशक उपेन्द्र सुब्बाले फिल्म ‘मनसरा’को छायांकन ललितपुरको नख्खुबाट सुरु गरेका छन् । यो फिल्ममा नायक दयाहाङ राई र नायिका मिरुना मगरको मुख्य भूमिका रहनेछ ।
फिल्मको पहिलो दिनको सेड्यूलमा नायिका मगर र कलाकार प्रवीण खतिवडाले टेक दिएका छन् । फिल्मलाई ललितपुर र ताप्लेजुङको पाँचथरमा छायांकन गरिनेछ । एक महिनाको सेड्यूलमा यो फिल्मको छायांकन सुरु गरिएको हो । फिल्मको प्रदर्शन मिति आउँदो बर्षको वैशाख २१ गतेलाई तय गरिएको छ ।
‘डिग्री माइला’को छायांकन सकेपछि दयाहाङ ‘मनसरा’को सेटमा जोडिनेछन् ।
प्रतिक्रिया