ब्रान्ड बजारमा प्रदीपः पहिलो पारिश्रमिक ३० हजार, दर्जन बढीमा अभिनय

नेपाली फिल्म क्षेत्रका सफल नायक हुन्, प्रदीप खड्का । प्रदीपको नामले मात्रै ठूलो संख्याका दर्शक हलसम्म पुग्छन् । फिल्म ‘प्रेमगीत’बाट उनले बनाएको क्रेज आजका दिनमा अझै सशक्त बनेको छ । 

प्रदीपको यही लोकप्रियतालाई  देखेर थुप्रै ब्रान्डले उनीसँग सहकार्य गरेका छन् । प्रदीपको माग ब्रान्ड बजारमा पनि निकै सुखद मानिन्छ । 

युवा पुस्तामा राम्रो फ्यान कमाएका प्रदीप ब्रान्ड बजारमा यति जमेका छन् कि दर्जन बढी कम्पनीहरूको व्यावसायिक रुपमा सद्भावना दूत भएर काम गरिरहेका छन् ।

समाजमा स्थापित व्यक्तिहरूको क्रेजलाई क्यास गर्न विभिन्न कम्पनीले विभिन्न ब्रान्डमा छोटो समयको स्किम, अफरका लागि विज्ञापन खेलाउनेदेखि दुई वर्षदेखि पाँच वर्षसम्मका लागि ब्रान्ड एम्बेसडर नियुक्त गर्ने क्रम अहिले सामान्य भइसकेको छ ।


प्रदीपको प्रभाव गाउँदेखि शहरसम्म रहेकाले थुप्रै कम्पनी तथा विज्ञापन एजेन्सीहरूले उनलाई रोज्ने गरेका छन् ।

उसो त, नेपालमा नेपाली कलाकारहरूलाई राखेर ब्रान्ड प्रबर्द्धन गर्दा विश्वसनियता बढ्ने र कलाकारलाई पनि आर्थिक रूपमा बलियो हुने आधार तयार छ ।

प्रदीपले पहिलो विज्ञापनमा काम गरेर ३० हजार पारिश्रमिक लिएका थिए । उनका अनुसार नेपालमा क्लिन फिड र अन्य नियमका कारण नेपाली कलाकारहरू विज्ञापनमा देखिन थालेका छन् । कलाकारहरूको अहिले विज्ञापनमा माग बढेको छ । 

प्रदीपले ब्रान्डलाई गुणस्तर, कम्पनी र टिमको प्रोफाइलसँगै उत्पादन उपलब्धता हेरेर निर्णय गर्ने गरेका छन् । साथै, प्रदीपले ब्रान्डबाट पारिश्रमिक सामान्यतया दैनिक आधारमा काम गरेको आधारमा लिने गरेका छन् । 



अहिले विज्ञापनको तरिका फरक भएको छ । अहिले, विज्ञापनमा पनि डिजिटल मिडियाको प्रभाव बढेको छ । तर, आर्थिक संकटका कारण ब्रान्ड बजार पनि कमजोर बनेको प्रदीपको बुझाई  छ । 

विगत ८ वर्षदेखि हालको अवस्थासम्म आइपुग्दा प्रदीपले पेप्सी, टिभिएस एनटर्क १२५ स्कुटर, बेलाको, ब्राडफोर्ड एजुकेसन कन्सल्टेन्सी, प्रभु बैँक, नोभेम्बर जिन्स, टु पिएम चाउचाउ, नेक्ड एक्सप्रेस, लर्ड बुद्ध एजुकेसन फाउन्डेसन ग्रुप अफ इन्सटिच्यूसन, नेटा भी विद्युतीय कार, प्याराडाइज गार्डेन लगायतको ब्रान्ड प्रबर्द्धन गदै आइरहेका छन् ।

प्रदीपको लोकप्रियतालाई देखेर उनलाई थुप्रै ब्रान्डले सहकार्यका लागि अफर पनि गरिरहेका छन् । यी चकलेटी हिरो फिल्म र विज्ञापन बजारबाट राम्रो आम्दानी गरिरहेका छन् । कुनै समय अष्ट्रेलीया जानका लागि झोला भिरिसकेका यी नायक आजको दिनमा ब्रान्ड बजारमा सर्वप्रिय भएका छन् ।