के ‘फर्की फर्की’सँग ‘पुजार सार्की’लाई भिडाउने तयारी गरिएको हो ?

नायक अनमोल केसी र नायिका जसिता गुरुङको मुख्य भूमिका रहेको फिल्म ‘फर्की फर्की’को टिमले छायांकन अगावै आउँदो बर्षको जेठ ११ गते फिल्म रिलिज गर्ने घोषणा गर्यो । यो अनुसार, निर्माता रोहित अधिकारीले फिल्मको काम पनि अगाडि बढाइरहेका छन् । फिल्मको पहिलो सेड्यूलको काम सकिएको छ । अब, ४ वटा गीत र केही दृश्यको मात्र छायांकन गर्न बाँकी छ । 

यो फिल्म जेठ ११ गते रिलिज हुने भएपछि अन्य केही फिल्मलाई पनि यही मितिमा ल्याउने तयारी गरिएको थियो । तर, विविध कारणले  निर्माताहरूले ‘फर्की फर्की’सँग फिल्म जुधाएनन् । 

तर, माघको १० गतेबाट छायांकनमा जाने तयारीमा रहेको फिल्म ‘पुजार सार्की’लाई जेठको ११ गते रिलिज गर्ने तयारी यसको निर्माणपक्षले गरेको बुझिएको छ । फिल्म क्षेत्र भित्र अहिले यो बिषय गर्मिलो बनेको छ । 

दिनेश राउतको  निर्देशनमा तयार हुन लागेको यो फिल्ममा आर्यन सिग्देल, प्रदीप खड्का र पल शाह मुख्य भूमिकामा छन् । फिल्मले  पुजार र सार्की नाम गरेका २ पात्रको कथा भन्नेछ । 

‘फर्की फर्की’सँग ‘पुजार सार्की’ रिलिज गर्ने तयारी गरिनुको पछाडि, दुई व्यक्तिबिचको सम्बन्धलाई कारण मानिएको छ । फिल्म ‘फर्की फर्की’का निर्माता रोहित अधिकारी र फिल्म ‘पुजार सार्की’का निर्देशक दिनेश राउतबिचको तिक्तताले दुई  प्रतीक्षित फिल्मको भिडन्त हुन लागेको बुझिएको छ । 

दिनेश र रोहितले मिलेर फिल्म ‘२६ करोड’ बनाउने तयारी गरेका थिए । तर, यी दुइबिच असमझदारी उत्पन्न भएपछि यो फिल्म बन्न सकेन । अहिले ‘फर्की फर्की’सँग ‘पुजार सार्की’ रिलिज गर्ने तयारी गरिनुको पछाडि पनि दिनेशको रोहितसँग सिर्जना भएको विवादलाई मानिन्छ । 

यी दुवै फिल्मले आउँदो बर्ष  सुखद व्यापार गर्ने आँकलन गरिएको छ । यस्तो अवस्थामा दुई फिल्म जुधेको खण्डमा दुवै फिल्मका निर्मातालाई घाटा लाग्नेछ ।