‘उपहार’लाई लिएर यसकारण ढुक्क छन् ज्ञानेन्द्र देउजा
निर्देशक ज्ञानेन्द्र देउजाले निर्देशन गरेको फिल्म ‘झिँगे दाउ’ गतबर्ष रिलिज भयो । फिल्मको पहिलो दिनको व्यापार ६ लाख ग्रस मात्र थियो । शनिबार फिल्मले ठीकठाक व्यापार गर्यो । तर, आइतबारदेखि दर्शकको चाप हलमा उच्च देखिन थाल्यो । यसपछि भने फिल्मले सुखद कमाई गर्यो ।
ज्ञानेन्द्र आफूले निर्देशन गरेको फिल्मप्रति सधैं नै विश्वस्त देखिन्छन् । फागुनको २५ गतेबाट रिलिजमा आउन लागेको फिल्म ‘उपहार’लाई लिएर पनि उनी ढुक्क छन् । किनकी, यो फिल्मको कथावस्तु र प्रस्तुति बलियो भएको उनको तर्क छ । फिल्मले आम दर्शकको मन छुनेमा उनी ढुक्क देखिए ।
फिल्ममा यसपटक उनले रेखा थापा, पूजा शर्मा र बेनिशा हमाललाई मुख्य कलाकारको रुपमा लिएका छन् । यी तीन कलाकारको स्टारडमले फिल्मको ओपनिङ बलियो हुनुपर्नेछ । आइतबारदेखि भने निर्देशकको भाषा बोल्नेछ ।
फिल्मको कथावस्तु सामान्य भएको तर दर्शकलाई फिल्म हेरुञ्जेल मज्जा आउने देउजाको तर्क छ ।
कमर्सियल फिल्म बनाउन देउजा माहिर मानिन्छन् । उनले निर्देशन गरेका ‘देवर बाबु, कुरुक्षेत्र, हिफाजत, गोर्खाली, हामी ट्याक्सी ड्राइभर’ जस्ता फिल्मले बक्स अफिसमा राम्रो कमाई गरे । यी फिल्ममा उनको निर्देशनको बलियो पाटो झल्किन्छ ।
यसपटक ‘उपहार’मा पनि दर्शकले कमर्सियल स्वाद पाउनेछन् । फिल्मको २ वटा गीत सार्वजनिक भइसकेको छ । अब, फिल्मको टिजर र ट्रेलर सार्वजनिक भएपछि यसको कथावस्तु के हो भन्ने खुल्नेछ । तर, फिल्मको ट्रेलर सार्वजनिक भएपछि यसको हाइप अर्कै हुने कुरामा देउजा विश्वस्त छन् ।
प्रतिक्रिया