प्रदीपसँग ‘ऐरी’मा काम गर्दै ‘जवान’का सांगे ?

नायक प्रदीप खड्का आफ्नो नयाँ प्रोजेक्ट ‘ऐरी’लाई लिएर उत्साहित छन् । यो फिल्ममा उनले नेपाली र भारतीय कलाकारलाई जोड्ने प्रयास गरिरहेका छन् । यसका लागि उनले भारतका विभिन्न कलाकारहरूसँग पनि कुरा अगाडि बढाएका छन् । 

उनै, प्रदीपले कलाकार साँगे सेल्ट्रिमलाई पनि अफर गरेका छन् । फिल्मका लागि सांगेसँग अहिलेसम्म संझौता भएको छैन । तर, यी बलिउड तथा भुटानी अभिनेतासँग केही सातामा कागजी संझौता हुने संभावना उच्च छ । 

प्रदीपले मुम्बईमा रहँदा सांगेलाई फिल्मका लागि अफर गरेका थिए । उनै, सांगे शनिबार नेपाल आइपुगेका छन् । उनले, नेपालमा रहँदा नै यो फिल्मका लागि कागजी संझौता गर्ने संभावना उच्च छ । 

फिल्म ‘जवान’मा काम गरेपछि सांगे नेपाली दर्शकहरुमाझ पनि लोकप्रिय छन् । यसैले, नेपालमा पनि यो फिल्मको हाइप अझै बढ्नेछ । अर्कातिर, सांगेले काम गरेको खण्डमा प्रदीप र उनको पर्दा शेयर गज्जब हुने देखिन्छ । 

यस्तै, सांगे भुटानी नागरिक भएकाले भुटानमा फिल्म रिलिज गर्न पनि निर्माणटिमलाई सहज हुनेछ । सांगेले साहरूख भन्दा अगाडि नायक सलमान खानसँग फिल्म ‘राधे’मा पनि काम गरेका थिए । 

जीवन थापाको निर्देशनमा तयार हुन लागेको यो फिल्मले एकजना शिकारीको कथा भन्नेछ । फिल्मको मोसन पोस्टर सार्वजनिक भएसँगै यसको चर्चा पनि चुलिएको छ । फिल्मलाई हिन्दी, अंग्रेजी, तमिल र नेपाली भाषामा निर्माण गर्ने तयारी प्रदीपको छ । यो फिल्ममा सुवास काले, प्रशान्तकुमार गुप्ता र राजन कुँवरको लगानी रहनेछ । फिल्मको छायांकन नेपालमा हुनेछ ।