‘पर्खि बसेँ तिमीलाई’ मात्र होइन, ‘पर्खि बसेँ’ बिकाउन पनि दीपकलाई गाह्रो भएको थियो

निर्देशक दीपक श्रेष्ठले आफूलाई नयाँ कलाकार लिएर फिल्म चलाउन निकै गाह्रो भएको भन्दै मिडियाकर्मीमाझ दुःख पोखे । उनले केही युट्युब च्यानलले अहिलेदेखि नै फिल्मको कथा अड्कलबाजीमा सार्वजनिक गरेको भन्दै प्रिमियरमा हेर्न आउन निम्तो दिए । 

यसो भन्दै गर्दा, नयाँ कलाकार लिएर फिल्म बिकाउन समस्या भएको गुनासो उनले बारम्बार गर्दै आएका छन् । कतिपयले यसलाई दीपकको फिल्म चलाउने फन्डा पनि मान्ने गरेका छन् । तर, दीपकले भने फिल्म हलदेखि वितरक र डिजिटल राइट्स खरिदकर्ताले नयाँ कलाकारको फिल्म पहिले नै चल्दैन भनेर हेप्ने गरेको गुनासो गरे । 

तर, दीपकले नयाँ कलाकार लिएर यस्तो खालको व्यवहार भोगेको पहिलो पटक भने होइन । यसअघि फिल्म ‘पर्खि बसेँ’मा पनि उनले निकै समस्या भोगेका थिए । फिल्ममा नयाँ कलाकारको रुपमा राजवल्लभ कोइराला र यूना उप्रेतीले डेब्यू गरेका थिए । यी दुई कलाकारमाथि पैसा लगानी गर्न कोही पनि तयार थिएनन् । 

गोपिकृष्ण मुभिजले बनाएको यो फिल्म प्रिमियरमा हेरेपछि अधिकांशले आलोचना गरेका थिए । दीपकले संझिए–‘अधिकांशले दीपक श्रेष्ठले म्युजिक भिडियो जस्तो फिल्म बनाएछ भनेर आलोचना गरे । कतिपयले गोपिकृष्णलाई डुबाउने भयो भनेर आलोचना गरे । तर, फिल्म रिलिज भएको दिनदेखि हलमा दर्शकको ओइरो नै लाग्यो । प्रिमियरमा आलोचना गर्नेहरू पनि मलाई भेट्दा मुख लुकाएर हिँड्न थाले ।’

नयाँ कलाकार लिँदा जहिले पनि उनी समस्यामा पर्ने गरेका छन् । यसपटक उनले किरण श्रेष्ठ र रक्षा बुढाथोकीलाई डेब्यू गराएका छन् । यी दुई कलाकारले उत्कृष्ट काम गरेको दाबी उनको छ ।