के महेश खड्कालाई फिल्म क्षेत्रले विर्सिएको हो ?
नेपाली फिल्म क्षेत्रका लागि संगीतकार महेश खड्काले दर्जनौं सुपरहिट गीत दिएका छन् । उनका गीतबाट गायक दीपक लिम्बु पाश्र्व गायनमा जमे ।
उनै, खड्का विगत केही बर्षदेखि फिल्म क्षेत्रबाट टाढा जस्तै छन् । उनको मेलोडीलाई दर्शकले सुन्न पाएका छैनन् ।
तर, उनै खड्काले फिल्म ‘पर्खि बसेँ तिमीलाई’का गीतमा संगीत भरेका छन् । उनले, संगीत भरेका गीतले दर्शकको मन जितिरहेका छन् ।
शनिबार आयोजित पत्रकार सम्मेलनमा महेशले फिल्म क्षेत्रले सम्झिएको खण्डमा आफू आज पनि दर्शकलाई नयाँ नयाँ स्वादका गीतसंगीत पस्कन तयार रहेको बताए । उनले भने–‘म विगत एक दशकदेखि विशेषगरि रोयल्टीको विषयमा लागिपरेँ । जसले गर्दा कही कतै नयाँ निर्माताहरूसँग मेरो दुरी बढ्यो । जसकाकारण, काम नगरेको हो कि जस्तो लागेको हुनसक्छ ।’
महेशले घुमाउरो तरिकाले आफूलाई फिल्म क्षेत्रले विर्सिएको तर्फ संकेत गरे । महेशले आफू आज पनि गीतसङ्गीतको क्षेत्रमा सक्रिय रहेको बताउँदै नयाँ निर्माताहरूले संझिएको खण्डमा उत्कृष्ट काम गर्न तयार रहेको बताए ।
संगीतकार खड्काले ‘आज मन उडेर भाग्छ, मैले त्यही भएर मन पराको, आँखा भन्छ गाजल लाउँ, हिउँ जस्तै, दुई एकान दुई, थोपा थोपा, मलाई फुल्न देउ’ लगायतका दर्जनौ सुपरहिट गीत नेपाली फिल्म क्षेत्रमा दिएका छन् ।
प्रतिक्रिया