जता-जता दयाहाङ, उता-उता मिरुना

फिल्म निर्माताहरूबीच यतिबेला अभिनेता दयाहाङ राई र अभिनेत्री मिरुना मगरलाई आफ्नो फिल्ममा जोडी बनाउने होड चल्दै आइरहेको छ।

दयाहाङ र मिरुना पहिलो पल्ट रामबाबु गुरुङ निर्देशित फिल्म ‘कबड्डी ४’मा जोडीका रुपमा देखिएका थिए । यस पछि उपेन्द्र सुब्बा निर्देशित फिल्म ‘जारी’ मा उनीहरू पुन: जोडीका रुपमा देखिए ।

फिल्म 'जारी'को सफलताले त दयाहाङ र मिरुनालाई बजारमा खोजिने जोडी बनायो । यसो हुनुको पछाडि उनीहरू अभिनीत ‘कबड्डी ४’ र ‘जारी’को सफलतालाई मुख्य कारक ठानिएको हो ।  ‘जारी’ पछि यो जोडी ‘नांगो गाउँ’मा देखिएको थियो । यो फिल्म पनि बक्स अफिसमा हिट भएपछि त निर्माता दया र मिरुनालाई फिल्मको ओइरो लागेको छ । 

हालको समयमा नेपालको घरेलु बक्स अफिस र डायोस्पोरामा उनीहरूको जोडी बिकाउ बनिरहेको छ । उनीहरूमाथि पैसा हाल्न ओभरसिज र नेपालका वितरक र डिजिटल खरिदकर्ताहरु सजिलै तयार भइरहेका छन् ।

अहिले बजारमा नाम सार्वजनिक भएको कम्तीमा आधा दर्जन फिल्ममा दया र मिरुनाले सँगै काम गर्दैछन् । एकाध फिल्ममा उनीहरू जोडीको रुपमा देखिने छैनन् भने धेरै जसो फिल्ममा यी दुइको केमेष्ट्री नै दर्शकले पर्दामा देख्न पाउनेछन् । 

दयाका हालसम्म १९ वटा फिल्म पाइपलाइनमा छन् । जसमध्ये, केही फिल्म रिलिजका लागि तयार छन् भने अधिकांशको त छायांकन नै सुरु भएको छैन ।  त्यही कारण आउँदो दुई वर्षसम्म दया प्याक छन् । यही अवस्था मिरुनाको पनि छ । मिरुनाको हातमा पनि आधा दर्जन फिल्म छन् ।

जसमध्ये, ५ वटामा दयाहाङ राई नै उनको साथमा छन् । मिरुनाले साइन गरेको मध्ये फिल्म ‘उनको स्विटर’मा मात्र दया र उनको जोडी देखिनेछैन । यो फिल्ममा मिरुनाको साथमा विपिन कार्कीले जोडी बाँध्दैछन् । 

दया र मिरुना फागुन २६ मा प्रदर्शन हुने फिल्म ‘रंगेली’ बाट जोडीकै रुपमा पर्दामा देखिँदैछन् । यसपछि भने दया र मिरुना ‘मनसरा’ मा सँगै देखिँदै छन् । यो फिल्मको बाँकी रहेको केही प्रतिशत सुटिङ  माघदेखि सुरु हुने छ ।

 मनसरापछि दुवैले ‘घर ज्वाइँ’का लागि समय दिँदैछन् । यस्तै, अर्को फिल्म ‘लोकल हिरो’ मा पनि सँगै देखा पर्दैछन् । तर यो फिल्म कहिले फ्लोरमा निस्कने छ टुंगो छैन ।  

यसै बीच यी दुवै ‘गाउँ नै रमाइलो’मा काम गर्दैछन् । यो फिल्म मिरुनाले हालै मात्र साइन गरेकी हुन् । यसरीहेर्दा, दया भएको फिल्ममा मिरुना पनि हुनैपर्छ भन्ने सोच मेकरमा हाबी भएको देखिन्छ ।

तर, यो फिल्म बनाउनेहरूका लागि खतराको संकेत हो । भोलि यी दुईले काम गरेको कुनै एक फिल्म चिप्लियो भने, बाँकी फिल्मले पनि दर्शकको साथ नपाउने संभावना उच्च हुन्छ । यसैले, एउटै जोडीमाथि फिल्मको भारी बोकाउने कामबाट निर्माताहरू मुक्त हुन आवश्यक छ ।