महंगो टिमले भरिएको ‘फर्की फर्की’
निर्माता रोहित अधिकारी ‘फर्की फर्की’ फिल्मको दोस्रो सेड्यूलको छायांकनको तयारीमा छन् । पहिलो चरणको छायांकन पोखरामा एक महिना गरेपछि रोहित उत्साहित छन् । फिल्मलाई ठूलो क्यानभासमा खिचिएको उनको तर्क छ ।
यो फिल्मको क्यानभास मात्र ठूलो होइन, कलाकारहरूको पारिश्रमिक पनि महँगो रहेको वुझिएको छ । विशेष स्रोतले मेरो फिल्मलाई दिएको जानकारी अनुसार, फिल्मका लागि नायक अनमोल केसीले ५० लाख पारिश्रमिक बुझेका छन् । अनमोल ५० लाख पारिश्रमिक बुझ्ने एक मात्र नेपाली नायक हुन् ।
फिल्मका लागि नायिका जसिता गुरुङले १५ लाख पारिश्रमिक बुझेको स्रोतले मेरो फिल्मलाई जानकारी दिएको छ । यो फिल्मबाट जसिता निकै नै उत्साहित छिन् ।
फिल्मलाई सुयोग गुरुङले निर्देशन गर्दैछन् । फिल्मको कथा लेखन पनि उनकै हो । सुयोगले पनि ३५ लाख पारिश्रमिक लिएको वुझिएको छ ।
फिल्मको छायांकन नरेन्द्र मैनालीले गरिरहेका छन् । नरेन्द्रले फिल्मका लागि १० लाख पारिश्रमिक लिएको मेरो फिल्म स्रोतले बताएको छ ।
यो फिल्ममा अब कोरियोग्राफरको रुपमा रेनशा वान्तवा राइको प्रवेश भएको छ । रेनशाको प्रवेश भएसँगै फिल्मका ४ वटा गीतको क्यानभास पनि उच्च हुने पक्का छ । रेनशाले कोरियोग्राफीका लागि मात्र ७ लाख पारिश्रमिक बुझेको जानकारी मेरो फिल्मलाई प्राप्त भएको छ ।
फिल्मको निर्माणपक्षले ४ वटा गीतको छायांकन काठमाडौं, अन्नपूर्ण बेस क्याम्प र इन्डोनेसियाको बालीमा गर्दैछ । यसैले, गीतको छायांकनमा पनि कुनै संझौता नगर्ने तयारी रोहितको छ ।
आउँदो बर्षको जेठ ११ गतेबाट रिलिज हुन लागेको यो फिल्म छायांकनको चरणदेखि नै चर्चामा छ । फिल्मलाई लिएर यसका कलाकारदेखि प्राविधिकहरू उत्साहित छन् । नायक अनमोल केसीले मेरो फिल्मसँगको भेटमा भने–‘फर्की फर्कीको कथालाई दर्शकले स्विकार गर्नुभयो भने लभ स्टोरीको कथा भन्ने शैली नै बदलिनेछ । यो फिल्मबाट म निकै सन्तुष्ट छु ।’
फिल्ममा रवि काफ्ले, समृद्धी अर्याल, कृष्ण मल्ल, निर्मल शर्मा लगायतका कलाकारको पनि अभिनय छ । फिल्मका प्रोडक्शन हेड शंकर पाण्डे हुन् । रोहितले ओएसआर डिजिटलसँग मिलेर यो फिल्मको निर्माण गरिरहेका छन् ।
प्रतिक्रिया