निर्देशकको बक्स अफिस दौडः उपेन्द्रले दिएको १७ करोडको लक्ष्य भेट्नै गाह्रो

यो बर्षको सुरुवातमै निर्देशक उपेन्द्र सुब्बाले ‘जारी’ फिल्मबाट भेट्टाउनै मुस्किल पर्ने लक्ष्य दिए । बक्स अफिसमा उनले डेब्यू निर्देशन गरेको फिल्म ‘जारी’ले १७ करोड माथिको कलेक्शन गर्यो । यो आँकडा धेरैका लागि आश्चर्यचकित नै पार्ने खालको थियो । 

यसपछि, यो लक्ष्यलाई पछ्याउँदै धेरै निर्देशकहरूले फिल्म बनाए । कतिपयले ‘जारी’को लक्ष्यलाई भेट्ने कोशिश गरे भने कतिपयले उछिन्ने दाबी नै गरे ।

तर, निर्देशकहरूको बक्स अफिसको यो दौडमा बर्षको नवौं महिनासम्म आइपुग्दा उपेन्द्रको लक्ष्य भेट्न कसैले सकेका छैनन् । 

यो बर्ष सर्वाधिक आशा गरिएको फिल्म ‘पशुपति प्रसाद २’ बाट दीपेन्द्र के खनालले यो लक्ष्य पार गर्ने आशा गरिएको थियो । तर, यो फिल्म १० करोड तल नै समेटियो । यसपछि, निर्देशक निश्चल बस्नेतले लक्ष्य पछ्याए । फिल्मले कमायो तर उपेन्द्रले दिएको लक्ष्यको छेउछाउ पनि पुग्न सकेन । 

अब, केही निर्देशकहरू र उनीहरूले बनाएको फिल्ममाथि आशा गरिएको छ । वर्षको पहिलो दिनमै उच्च योगफल तयार पारेर मुसुक्क मुस्कुराएका उपेन्द्रले यो दौडलाई रोचक तरिकाले हेरिरहेका छन् । 

उनी, अब अर्को बर्ष फेरि फिल्म ‘मनसरा’बाट नयाँ लक्ष्य दिने दौडमा लागेका छन् । अब, उनले नयाँ लक्ष्य बक्स अफिसमा दिन्छन् या दिदैनन्, त्यो हेर्न बाँकी छ । तर, यो बर्ष उपेन्द्रले दिएको लक्ष्यलाई पार गर्ने निर्देशक कोही निस्केलान् त ? प्रतीक्षा सबैको छ ।