फागुनका ४ फिल्मः पहिलो लुक्सले नै बढायो ‘अगस्त्य’को हाइप

फागुन महिनामा फिल्म ‘अगस्त्य’ पनि थपिएपछि फिल्म रिलिजको सरगर्मी बढेको छ । सौरभ चौधरी निर्देशित यो फिल्मको फस्टलुक रिलिज भएसँगै यसको चर्चा बढेको हो । 

यो फिल्मको निर्माण टिमले सुरुवातमा फागुन २५ गते रिलिज मिति तोक्ने तयारी गरेको थियो । तर, फागुन २५ मा पहिले नै तीन फिल्म भएका कारणले निर्माणपक्षले भिडन्त चाहेन । 

‘अगस्त्य’ रिलिज भएको एक सातापछि ‘रंगेली, उपहार र काँडेतार’ रिलिज हुँदैछन् । यदि, फागुन १८ मा रिलिज भएको ‘अगस्त्य’ले बक्स अफिसमा राम्रो कमाई गर्यो भने फागुन २५ मा पर्ने शिवरात्री र सोमबारको सार्वजनिक बिदाको फाइदा ‘अगस्त्य’ले पनि उठाउनेछ । 

यसैले, यो फिल्मलाई बलियो वर्ड अफ माउथको आवश्यकता छ । तर, फिल्मलाई लिएर यसको निर्माणपक्षको आत्मविश्वास उच्च देखिएको छ ।

नायक सौगात मल्लको दुई वटा गेटअप सार्वजनिक भएसँगै यसको हाइप चुलिएको हो । फिल्मका लागि सौगात मल्लले गरेको मिहिनेतको चौतर्फी तारिफ भइरहेको छ । फिल्म क्षेत्रका केही व्यक्तिहरूले यसले आउँदो दशकका लागि फिल्मी बजारमा नयाँ ट्रेन्ड सेट गर्ने दाबी समेत गरिरहेका छन् । 

फागुन २५ मा रिलिज हुन लागेको फिल्म ‘उपहार’को दुई वटा गीत रिलिज भइसकेको छ । फिल्मको दुई गीतले दर्शकको अपेक्षित साथ पाएका छैनन् । सार्वजनिक दोस्रो गीत ‘मुटुको कुनामा’ले ७ दिनमा १० लाख पनि भ्यूज पाउन सकेको छैन । अब, यो फिल्मको ट्रेलर आएपछि यसको व्यापारको अनुमान लगाउन अझै सजिलो हुनेछ ।

‘रंगेली’को पनि पोस्टर मात्र सार्वजनिक भएको छ । दयाहाङ राई, मिरुना मगर र अर्पण थापाको उपस्थिति फिल्मको इनिसियल व्यापारमा केही फाइदाजनक हुनसक्छ । फिल्म ‘काँडेतार’को देशभरका धेरै स्थानमा च्यारेटी शोज भइसकेको छ । निर्देशक तथा कलाकार नवल खड्का फिल्मलाई लिएर आशावादी देखिएका छन् । 

यसरी हेर्दा, फागुन महिना नेपाली फिल्मका लागि विशेष बन्न सक्छ । तर, पहिलो पोस्टर सार्वजनिक भएसँगै ‘अगस्त्य’ले पाएको चर्चा भने लोभलाग्दो देखिएको छ ।