‘चित्रा’का यी पाँच संवाद, जसले दर्शकको मन जित्न सक्छन्
पौषको २७ गतेबाट रिलिज हुन लागेको फिल्म ‘चित्रा’को ट्रेलर बुधबार बेलुकी सार्वजनिक भयो । सार्वजनिक ट्रेलरमा बाबु र छोरीको कथालाई प्रस्तुत गरिएको छ । आफ्नो छोरीको लागि एउटा बाबुले के समेत गर्न सक्छ भन्ने कथालाई निर्देशक घनश्याम लामिछानेले प्रस्तुत गरेका छन् ।
फिल्मको ट्रेलरमा प्रयोग गरिएका संवादहरू दर्शकको मन छुने खालका छन् । केही संवादलाई निर्देशक लामिछानेले साहित्यसँग पनि जोडेका छन् । नेपाली परिवेशमा लामो समयदेखि बोलिँदै आएका केही संवादहरू ट्रेलरमा छन् ।
‘राती राती ऐना नहेर भनेको, बुढो पोइ पर्छ क्या’ ।
‘आखिर हात पनि त्यही दीयोले पोल्यो, जसलाई हुरीबाट जोगाउन खोजेकी थिएँ ।’
यी संवादहरू नेपालीहरूको बोलीमा चलनचल्तीमा छन् ।
यी बाहेक फिल्मको ट्रेलरमा समावेश अन्य केही संवादले पनि दर्शकको मन छुन सक्छन् ।
‘सम्बन्धको अर्थ नवुझ्नेले शब्दको के वुझ्थ्यो र’ ?
‘प्राण बसेको छ चित्रा तिमीमा, माया त सानो कुरा हो ।’
‘यदि केही भएर चाँडै मरेछु भने, बाँकी दोषहरू पनि मेरो कात्रोमा लेखिदिन है छोरा ।’
यी पाँच संवादहरूले दर्शकलाई कही न कही फिल्मप्रति आकर्षित गर्ने देखिएको छ । घनश्याम लामिछानेले यसपटक फिल्मबाट दर्शकलाई भावुक बनाउने देखिन्छ ।
सन्तोष अधिकारी, अर्पण थापा, प्रमोद अग्रहरी, शुभेच्छा खड्का, मेनुका प्रधान, अन्जना बराइली, सिम्रन खड्का, आयुषी ढकाल लगायतको अभिनय रहेको यो फिल्मका अन्य संवादले दर्शकलाई कस्तो प्रभाव पार्छन्, यसका लागि फिल्म नै पर्खिनुपर्ने हुन्छ ।
यो फिल्ममा अजय अधिकारीको कथा र मनिष गौतमको पटकथा रहेको छ ।
प्रतिक्रिया