‘कोतपर्व’को स्क्रिप्ट फेरि लेखिने, सौगातलाई भ्याई नभ्याई

निर्देशक रिमेश अधिकारीले फिल्म ‘कोतपर्व’को स्क्रिप्ट फेरि लेख्नुपर्ने भएकाले निर्धारित मितिमा छायांकन सुरु गर्न नसकिने उल्लेख गरेका छन् । यो फिल्मको छायांकन चैत्रबाट सुरु गर्ने तयारी रिमेशको थियो । तर, फिल्मको कथा फेरि लेख्नुपर्ने भएपछि निर्धारित मितिमा यो फिल्मको छायांकन फेरि नहुने भएको छ । फिल्ममा नायकको रुपमा सौगात मल्ल फाइनल भइसकेका थिए । 

फिल्म ‘कोतपर्व’को सेड्यूल धकेलिएपनि नायक सौगात मल्ललाई भने भ्याई नभ्याई नै छ । उनी, हाल फिल्म ‘हात्तीछाप’को प्रचारमा दौडधूप गरिरहेका छन् । यो फिल्म माघको २६ गतेबाट रिलिजमा आउँदैछ । त्यसको ३  सातापछि सौगातको नै अभिनय रहेको फिल्म ‘अगस्त्य’ रिलिज हुँदैछ । यो फिल्ममा सौगातको लुक्स सार्वजनिक भएसँगै यसले चर्चा पाइरहेको छ । 

यो फिल्म रिलिज भएको डेढ महिनापछि सौगातले फेरि फिल्म ‘द रेड सुटकेस’को प्रचार गर्नुपर्नेछ । यो फिल्म चैत्रको ३० गतेबाट रिलिज हुँदैछ । सौगातको माघदेखि चैत्रसम्म ३ वटा फिल्म रिलिजको लाइनअप छ । 

यतिमात्र होइन, सौगातको हातमा फिल्मको पनि अभाव छैन । उनले फिल्म ‘रिमै’ साइन गरिसकेका छन् । यो फिल्मको छायांकन चैत्रमा सुरु हुने बताइएको छ । केही दिन अगाडि मात्र उनले ‘रक्तविज’ नामक फिल्म साइन गरेका थिए । यो फिल्मको छायांकन भदौमा गर्ने तयारी निर्माणपक्षको छ । 

नायक मल्लले सन्तोष सेनको निर्माण तथा निर्देशनमा बन्न लागेको फिल्म ‘बलिदान’ पनि साइन गरिसकेका छन् । यो फिल्मको छायांकन चाँडै नै सुरु गर्ने तयारीमा यसका निर्देशक सेन लागेका छन् । यसरी हेर्दा, सौगातको हातमा फिल्मको अभाव छैन । अर्कातिर, उनले आफूले काम गरेका फिल्मको प्रचार पनि जोडतोडका साथ गर्नुपर्नेछ । यसले, सौगातको सेड्यूलमा चर्को दबाब पर्ने देखिन्छ ।