विज्ञापनले छोपिदिएको प्रकाश सपुतको श्रृजना

गायक, मोडल तथा भिडियो निर्देशक प्रकाश सपुतका श्रृजनाहरु जतिबेला बजारमा आउँछन्, राम्रै चर्चा पाउँछन् । उसो त, प्रकाशका गीतसंगीत चल्नुको पछाडि अडियो मात्र नभएर भिडियोको पनि बलियो हात छ भनिन्छ । किनकी, भिडियोमा कुनै न कुनै विवादस्पद दृश्य राखेर सपुतले श्रृजना बेच्ने गरेका छन् । 

गीतसंगीत सुन्ने कुरा हो भन्ने उक्तिलाई सपुतका गीतले उल्टो साबित गरिदिएका छन् । सपुतका गीत सुन्ने भन्दा बढी हेर्नलायक हुने गरेका छन् । 

२ दिन अगाडि गायक सपुतले सार्वजनिक गरेको ‘मुटु कटक्कै’ बोलको गीत पनि अडियो भन्दा भिडियोमा शक्तिशाली छ । प्रकाश सपुतले भिडियोमा कुनै न कुनै नयाँ प्रयोग गर्छन्, जसले उनको गीतलाई चर्चामा ल्याउँछ । 

यो गीतको भिडियोमा प्रकाशको दोहोरो भूमिका छ । यस्तै, गीतमा मोडलको रुपमा कुसुम शर्माले काम गरेकी छिन् । 

प्रकाशको यो गीतले प्रेममा विछोड भएका युवाहरूका लागि रुने स्थानको खोजी गरेको छ । जसलाई एक पात्रले व्यापारको रुपमा अगाडि बढाएको देखिन्छ । 

तर, सपुतको श्रृजनालाई विज्ञापनले छोपिदिएको छ । उनले, गीतको भिडियोमा विज्ञापनलाई यसरी प्रयोग गरेका छन् कि, भिडियो हेर्दै गर्दा दर्शकलाई कही नै कतै यसले बिझाउँछ । अझ, भनौ चामलमा ढुंगा लागे जस्तै । 

गीत सुरु हुनु अगाडि विज्ञापन प्रयोग गर्नु त ठूलो कुरा भएन । तर, भिडियोका हरेक दृश्यमा सपुतले यसरी विज्ञापनलाई प्रयोग गरेका छन्, जुन हेर्दा सपुत सर्जक नभएर व्यापारी जस्तो लाग्छ । 

जसरी, भिडियोको कथामा सपुतले प्रेम बियोगको फाइदा उठाउँदै व्यापार गरेका छन्, त्यसरी नै उनले भिडियोमा विज्ञापनको भरपूर प्रयोग गर्दै श्रृजनालाई ओझेलमा पारिदिएका छन् । 

विज्ञापनलाई आफ्नो गीत संगीतसँग बेच्दा एउटा सर्जक, सर्जक नभएर व्यापारी जस्तो देखिन्छ । सपुतले यसपटक झनै आफूलाई सर्जक भन्दा व्यापारीको रुपमा परिभाषित गर्न खोजेको देखिन्छ ।