‘हात्तीछाप’मा कलाकार देखि लेखकसम्म मुनाफाको हिस्सेदार, फिल्म नचले ?

नेपाली फिल्म क्षेत्रमा यति बेला टिम बनाएर काम गरियो भने सफल भइन्छ भन्ने एउटा हुटहुटी छ । यो निर्माताका लागि खुशीको कुरा हो । किनकी, यसरी काम गर्दा एकातिर सिंगो टिमलाई नै फिल्मप्रति अपनत्व बोध हुन्छ भने निर्मातालाई पनि आर्थिक भारको दबाब कम हुन्छ ।  यो शैलीलाई फिल्म क्षेत्रका धेरै कलाकार र प्राविधिकहरुले पछ्याउन थालेका छन् । 

मुनाफाको हिस्सेदार बनेर काम गर्दा यी टिमहरू सफल देखिँदै आएका छन् । जसको सानो उदाहारण हो रामबाबु गुरुङको टिम र दीपक–दिपाको टिम । 

यस्तो टिमअपमा मुख्यतया धेरै पारिश्रमिक लिने कलाकार र प्राविधिक अगाडि सरेको पाइन्छ । फिल्मका मुख्य कलाकारदेखि छायांकार र सम्पादकले फिल्ममा आफ्नोहिस्सालाई शेयरको रुपमा परिवर्तन गर्न थालेका छन् । 

केही टिमहरूको सफलता देखेर केही निर्माता र कलाकारहरूले पनि मुनाफाको हिस्सेदार बनेर काम सुरु गर्न थालेका छन् । 

आगामी माघ २६ मा प्रदर्शनमा आउन लागेको फिल्म ‘हात्तीछाप’ पनि कलाकार, लेखक र निर्माताले मुनाफा बाँड्ने गरी टिम मिलाएका छन् । यो फिल्मको कमाइको हिस्सेदार कलाकार सौगात मल्लदेखि लेखक प्रदीप भारद्वाज र निर्माता किरण नेपालीबिच केही प्रतिशतको मुनाफा लिने गरी सहमति गरिएको चर्चा छ । 

फिल्मका मुख्य अभिनेता रहेका सौगात मल्ल मुनाफाको हिस्सेदार भएसँगै प्रचार प्रसारमा सक्रिय रुपमा लागिपरेका छन् । सौगातलाई एकातिर फिल्म चलाउनु पर्ने दबाब छ भने, अर्कोतिर आफू पनि फिल्ममा निर्माताको रुपमा जोडिदा मुनाफा पनि राम्रै कमाउन सक्ने आशा छ । उनले न्यूनतम पारिश्रमिक लिएर यो फिल्मको मुनाफामा साझेदारी रहने गरी काम गरेका हुन् । सौगात फिल्मको प्रचारमा निकै कम हिड्ने गरेको पाइन्छ । तर, यो फिल्मका लागि भने उनी जिल्ला र महोत्सव दौडमा छन् । सौगातले फिल्मलाई आफ्नो सोचेर प्रचार गर्नु सुखद कुरा हो । 

यता फिल्मका लेखक प्रदीप भारद्वाजले पनि पारिश्रमिक नलिई मुनाफामा साझेदारी गरेको बताइन्छ । फिल्मका मुख्य कलाकारदेखि लेखकले नै मुनाफामा साझेदारी गर्ने सहमती गरेपछि, निर्माता किरण नेपालीलाई सहज भएको छ । यसले, ‘हात्तीछाप’बाट बनेको किरण, प्रदीप र सौगातको टिमअप लामो समयसम्म जान सक्ने आँकलन पनि गर्न सकिन्छ । 

फिल्ममा सौगातबाहेक दयाहाङ राई, उपासना सिंह ठकुरी, बेनिशा हमाल, पुष्कर गुरुङ, विजय बराल, बुद्धि तामाङ आदि कलाकारको अभिनय छ । फिल्मलाई सिमोस सुनुवारले निर्देशन गरेका हुन् । रामबाबु गुरुङको टिम, दिपक–दीपाको टिमबाट अगाडि बढेको मुनाफाको शेयर बाँडफाँडको क्रम अब अन्य फिल्ममा पनि लागू हुन आवश्यक छ । विशेषगरि, महंगो पारिश्रमिक लिने नायक–नायिकाहरुले यसलाई फलो गर्न सकेको खण्डमा कलाकारका कारण फिल्म बनाउन नसकिने अवस्था आयो भन्ने निर्माताहरुका लागि ठूलो राहत हुनेछ ।