‘जारी’ले सय र ‘दिमाग खराब’ले ५१ दिन मनाउँदा दंग दया

आफ्नो अत्यन्त व्यस्त सुटिङ सेड्यूलबाट समय निकालेर नायक दयाहाङ राई शनिबार फिल्म ‘दिमाग खराब’को ५१ दिने सेलिब्रेशन कार्यक्रममा उपस्थित भए । यसअघि, यो फिल्मको कुनै पनि कार्यक्रममा दया सहभागी भएका थिएनन् । 

दयाले ‘दिमाग खराब’ले ५१ दिन मनाएकोमा खुशी व्यक्त गरे । दयाले ‘दिमाग खराब’को लागि मात्र खुशी व्यक्त गरेनन्, वैशाख १ गते रिलिज भएको फिल्म ‘जारी’को पनि प्रसंग उठाए ।

उनले भने–‘यो बर्ष मेरो लागि राम्रै भयो । वर्षको पहिलो दिन रिलिज भएको जारीले सय दिन मनायो । अब, दिमाग खराबले ५१ दिन मनाइसकेको छ । तर, सय वा ५१ दिन मनाउनु भन्दा पनि हामीले गरेको कामको परिणाम सुखद रहनु ठूलो कुरा हो । हाम्रो परिणाम सुखद बनेको छ । यसैको हामीले सेलिब्रेशन गरिरहेका छौं ।’

यो बर्ष दयाका दुई फिल्मले बक्स अफिसमा बम्पर व्यापार गरिरहँदा ‘नांगो गाउँ’ले पनि राम्रो कमाई गर्यो । अर्को बर्ष दयाका दर्जन बढी फिल्म रिलिजको तयारीमा छन् । तर, एक बर्षमै दुई वटा फिल्मले ५१ र सय दिन मनाउँदा दया भने खुशी देखिएका छन् ।