पिताको भूमिका गर्दैनन्, ५० लाख पारिश्रमिक माग्छन् राजेश हमाल

कुनै समयका सर्वाधिक व्यस्त नायक राजेश हमालले अहिले फिल्म गरेका छैनन् । उनले फिल्ममा काम नगरेको आधा दशक भइसकेको छ । निरन्तर फिल्म असफल भएपछि हमालले नयाँ फिल्म साइन गर्न समय लगाएका छन् । 

तर, हमाललाई फिल्मको अफर गर्नेहरूको अभाव भने बजारमा छैन । नयाँदेखि पुराना मेकरसम्मले हमाललाई फिल्मको अफर लिएर पुग्ने गरेका छन् । धेरै मेकरले अब राजेश हमालले भूमिका परिवर्तन गर्नुपर्ने सोच पनि राखेका छन् ।

सोही अनुसार, उनलाई फिल्मको अफर लिएर निर्माता पुग्ने गरेका छन् । तर, हमालले फिल्ममा पिताको भूमिका भने गर्न नमानेको निर्माताहरू बताउँछन् । नायक हमालले फिल्म ‘प्रेमगीत ३’मा नायक प्रदीप खड्काको पिताको भूमिकामा काम गर्न अस्विकार गरेका थिए ।

यसपछि, पनि उनलाई नायकको पिताको भूमिकामा काम गराउन निर्माताहरू कथा लिएर नपुगेका होइनन् । तर, हमालले यी भूमिका अस्विकार गर्दै आएका छन् । 

उनै, राजेश हमालले पारिश्रमिक पनि चर्को माग गर्ने गरेको निर्माताहरूले बताएका छन् । मेरो फिल्मलाई स्रोतले दिएको जानकारी अनुसार हमालले फिल्मको अफर लिएर पुग्ने निर्मातालाई ५० लाख पारिश्रमिक माग्ने गरेका छन् । तर, पनि राजेश हमाललाई फिल्मको अफर लिएर पुग्नेहरूको अभाव छैन । 

हमालले फिल्म ‘सत्यम्’ साइन गरेका थिए । यो फिल्ममा उनी केन्द्रीय भूमिकामा थिए । यसैले, उनले आफूलाई शक्तिशाली देखाउने भूमिका भएकाले यो फिल्ममा रुची देखाएका थिए । तर, यो फिल्म बनेन । 

अब, राजेश हमाललाई ५० लाख रुपैयाँ पारिश्रमिक दिएर उनले खोजे जस्तो भूमिकामा कुन निर्माताले पक्का गर्नेछन्, हेर्न बाँकी छ ।