सन्ध्या आरती गरेर पोखरा सडक महोत्सवको सांगीतिक कार्यक्रम शुभारम्भ

सन्ध्या आरती गरेर २५ औं पोखरा सडक महोत्सवको सांगीतिक कार्यक्रमको शुभारम्भ गरिएको छ । पोखराको हल्लन चोकबाट स्वस्ती बाचन गर्दै लेकसाइडको सडक हुँदै सांगीतिक कार्यक्रम हुने कोमा गाने पार्कमा बटुकहरु प्रवेश गरेका थिए। उनीहरुले स्टेजमा उक्लेर सन्ध्या महाआरती गरेका थिए।

सो सन्ध्या आरती प्रत्येक दिन रात्रीकालिन सांगितिक कार्यक्रम गर्नुअघि गरिनेछ। सो सन्ध्या आरतीमा विशेषगरी नेपालको सुखशान्तीको कामना गरिनेछ।

अंग्रेजी नयाँ वर्षको पूर्वसन्ध्यामा प्रत्येक वर्ष हुने यो सडक महोत्सव आज बिहीबारबाट पोखरामा सुरु भएको छ। कार्यक्रम आज एक औपचारिक कार्यक्रम गर्दै समुद्घाटन गरियो। यस कार्यक्रममा विभिन्न समूहले विभिन्न नेपाली समुदायका परम्परा संस्कृति झल्किने झाँकीहरु हल्लन चोक हुँदै कोमा गाने पार्क प्रवेश गरेका थिए।

अंग्रेजी नयाँ वर्ष बनाउन यतिबेला पोखरामा देशी तथा स्वदेशी पर्यटकहरुको भीडभाड उल्लेख्यमात्रामा बढेको छ।

महोत्सव जनवरी १ सम्म चल्नेछ। महोत्सवमा राष्ट्रिय स्तरमा ख्यातिप्राप्त बद्री पँगेनी, प्रीति आले, र्‍यापर आशिष राना 'लाउरे', र्‍यापर राजन केसीको साथमा मुक्ति एण्ड रिभाइबल, लक्ष्य, एलिमेन्ट, टुकी लगायतका ब्याण्डहरुको प्रस्तुति रहनेछ। भोली शुक्रबार दिपक बज्राचार्यको समूहले आफ्नो प्रस्तुति दिनेछ। उनीहरुका अलावा स्थानीय कलाकारहरुले पनि आफ्नो प्रस्तुति दिनेछन्। 

कार्यक्रमस्थल प्रवेशका लागि यसपटक आयोजकहरुले खल्ती एपबाट अनलाइन टिकट काट्ने व्यवस्था गरेका छन्। टिकट काट्दा दर्शकहरुले फुड भौचर पाउनेछन्। 

महोत्सवलाई रेष्टुरेन्ट तथा बार एशोसिएशन नेपाल(रेवान)को आयोजना गरेको हो जसको व्यवस्थापनमा एड साथी तथा स्वर्णिम इन्टरटेन्मेन्टले संयूक्तरुपमा गरेका हुन् ।