अभिनेता नीर शाह पनि राष्ट्रिय सभामा आकांक्षी
आगामी माघ २१ गते हुन गइरहेको राष्ट्रिय सभा सदस्यको चुनावका लागि अभिनेता नीर शाह पनि आकांक्षी रहने भएका छन् ।
नेपाली कांग्रेस बागमती प्रदेश समितिमा राष्ट्रिय सभा सदस्यका लागि शाहले आफ्नो नाम टिपाएका हुन् । उनले बुधबार नेपाली कांग्रेसको तर्फबाट उम्मेदवार रहने गरी नाम दर्ता गराएका हुन् ।
शाहसहित बागमती प्रदेशबाट ९१ जनाको नाम सिफारिस भएको छ । राष्ट्रिय सभा सदस्यको उम्मेदवारको लागि नाम दर्ता गराउने बुधबार अन्तिम दिन थियो । निर्वाचन आयोगले १९ सदस्यका लागि आगामी माघ ११ गतेका लागि निर्वाचनको मिति तोकेको छ । उम्मेदवारले पुस २३ मा आफ्नो नाम दर्ता गराउनु पर्नेछ ।
अघिल्लै कार्यकालका लागि नीर शाह सिफारिस हुने चर्चा थियो । तर शेरबहादुर देउवाको फाइनल लिस्टमा नपरेपछि उनी राष्ट्रिय सभा सदस्य बन्ने चर्चा चर्चामै मात्र सीमित रहेको थियो ।
राज परिवारसँग निकट मानिएका शाहले गणतन्त्रको स्थापनापछि नेपाली कांग्रेसबाटै राजनीति गर्दै आएका छन् । गत वर्षको प्रदेश सभाको चुनावमा पनि उनी उम्मेदवार बन्ने चर्चा थियो । तर त्यसबेला पनि उनले टिकट नपाएको चर्चा चलेको थियो ।
फिल्म ‘परिवर्तन’ बाट नेपाली फिल्म क्षेत्रमा प्रवेश गरेका शाह नेपाली चलचित्र उद्योगको पहिलो पुस्ताका सक्रिय फिल्मकर्मी मानिन्छन् । ‘वासुदेव’ ‘बसन्ती’ जस्ता फिल्म निर्देशन गरेका शाह पछिल्लो समय भने अभिनयमा मात्र केन्द्रित छन् ।
प्रतिक्रिया