मेकरको रोजाइमा पर्न नसकेकी रुविना
‘लभ डायरिज’बाट फिल्म क्षेत्रमा डेब्यु गरेकी नायिका हुन्, रुविना थापा । मोडलिङ क्षेत्रबाट फिल्म क्षेत्रमा प्रवेश गरेकी रुविनालाई पहिलो फिल्मले व्यापारिक सफलता भने दिएन ।
यो फिल्ममा अनुबन्धित भएसँगै मिडियामा रुविनाको चर्चा राम्रै भयो । नेपाली फिल्म क्षेत्रमा उनले नायिकाहरूको अभावलाई केही हदसम्म भएपनि पूर्ति गर्छिन् भन्ने अड्कलबाजी सुरु भयो । तर, फिल्मले व्यापारिक रुपमा असफलता भोगेपछि रुविनाको चर्चा सेलायो ।
रुविनाले वि.सं २०७८ मा डी सिने अवार्डमा सर्वश्रेष्ठ डेब्यु अभिनेत्रीको पुरस्कार समेत हात पारेकी थिइन् । यस पछि उनले फिल्म ‘डाँडाको वर पीपल’ मा मुख्य अभिनेत्रीको रुपमा काम गरिन् । तर, हलमा फिल्म हेर्ने दर्शक नै भएनन् । यो फिल्मबाट रुविनाले अभिनयमा आफ्नो छाप छाड्न पनि सकिनन् । ‘ब्याक टू ब्याक’ दुई फिल्मको असफलताले उनलाई ‘फ्लप हिरोइन’ को ट्याग लाग्यो । उनले, यो ट्याग हटाउनका लागि भरपूर कोशिश नगरेकी होइनन् । तर, सफल हुन सकिनन् । यस पछि रुविनाले फिल्म ‘म’ मा पनि काम गरिन् । यसबाट पनि फ्लप हिरोइनकै ट्यागले निरन्तरता पायो ।
तीन फिल्म असफल भएपनि उनको काम र सुन्दरताको चर्चा भने हुने गरेको छ । उनलाई मिडियामा ‘अनलक्की हिरोइन’ भन्ने गरिन्छ ।
अहिले रुविना फिल्म विहीन नै भएकी छिन् । उनका तीन वटा फिल्म सुपरफ्लप भएपछि उनीमाथि जोखिम मोल्न मेकर डराएका छन् । रुविना अगाडि बढ्नका लागि कुनै एउटा फिल्मले उनलाई सफलता दिलाउन जरुरी छ । तर, उनलाई अवसर दिन मेकरहरुले आँट गरिरहेका छैनन् । यदि कुनै मेकरले उनीमाथि संभावना देखेर फेरि लगानी गर्ने हिम्मत गरे भने रुविनाको नामको पछाडि झुन्डिएको ‘फ्लप हिरोइन’ को ट्याग हट्न सक्छ । तर, बिरालोको घाटीमा घन्टी कसले झुन्ड्याउने भने जस्तै अवस्थामा रुविनाको करिअरमा छ । के रुविनामाथि मेकरले विश्वास गर्लान् त ? प्रतीक्षा उनका शुभचिन्तकहरुलाई छ ।
प्रतिक्रिया