ब्रान्ड बजारमा दीपकः पहिलो पारिश्रमिक १० हजार, ३० भन्दा बढीमा अभिनय

कलाकार दीपकराज गिरीको माग फिल्ममा मात्र होइन, ब्रान्ड बजारमा पनि गज्जबको छ । दीपकराज गिरीको लोकप्रियता आज यसै बनेको होइन । उनी, कमेडीको दुनियाँमा प्रवेश गरेसँगै उनको नाम स्थापित भएको हो । तर, ‘तीतो सत्य’ नामक सिरियलमा काम गर्न थालेपछि भने दीपकको नाम अझै उचाइमा पुग्यो । आज फिल्मी दुनियाँमा उनी ‘राजा’ बनेका छन् । उनै, लोकप्रिय कलाकारलाई आफ्नो ब्रान्डको प्रमोसनमा राख्नका लागि विभिन्न नाम चलेका कम्पनीहरू लालायित छन् । 

दीपकले पहिलो पटक १० हजार रूपैयाँ पारिश्रमिक लिएर विज्ञापनमा काम गरेका थिए । जुन एउटा चकलेटको विज्ञापन थियो । यसपछि, उनले ३० वटा भन्दा बढी विज्ञापनमा काम गरिसकेका छन् । 

दीपकका अनुसार, विज्ञापनको बजार अहिले केही सुस्ताएको छ । तर, केही बर्ष अगाडि जति बेला यो बजार उचाइमा थियो, त्यतीबेला कलाकारको कमाइको माध्यम नै विज्ञापन बनेको थियो । तर, आजको दिनमा बजार सुस्ताउँदा कलाकारहरूलाई पनि घाटा लागिरहेको छ । 

दीपकका अनुसार, उनले कुनै पनि ब्रान्डमा जोडिनका लागि मुख्यतयाः पारिश्रमिक नै हेर्ने गरेका छन् । तर, पारिश्रमिक राम्रो पाउँदैमा चुरोट, रक्सी, गुट्खा जस्ता स्वास्थ्यसँग सम्बन्धित विज्ञापनमा भने आफूले काम नगर्ने दीपकको भनाई छ । दीपक सबैभन्दा लामो समयदेखि जोडिएको कम्पनी आईएमई हो । यो कम्पनीसँग आफू २३ बर्षदेखि निरन्तर जोडिएको दीपक बताउँछन् । दीपकले यो बाहेक वाईवाई चाउचाउ, बर्जर पेन्ट्स, कृषि विकास बैँक, शिखर सुज लगायतका कम्पनीको विज्ञापनमा काम गरेका छन् । 

दीपकका अनुसार, उनले कुनै पनि ब्रान्डमा पारिश्रमिक लिदा त्यसको लोकप्रियता र कम्पनी हेर्ने गरेका छन् । नाम चलेका ब्रान्डसँग लिइने पारिश्रमिक र नयाँ तथा साना बजार भएका ब्रान्डसँग लिने पारिश्रमिकमा फरक हुने उनको भनाई छ । 

दीपकराज गिरीको लोकप्रियता बढेसँगै उनको ब्रान्ड बजारसँगको सम्बन्ध पनि बढेको छ । यसैले, आजको दिनमा उनी फिल्म र ब्रान्ड बजारबाट राम्रो रकम कमाउने फिल्मीकर्मीमा पर्छन् ।